
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका ३ भट्टेमा केही वर्ष पहिलासम्म स्थानीयहरूले परम्परागत खेती मकै, तोरी गहुँ लगायत गर्ने गरेका थिए । तर, विगत २/४ वर्ष देखि २५/३० घरधुरीले व्यवसायिक रुपमा तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आइरहेका छन् । परम्परागत खेती भन्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएपछि गाउँमा सबै तरकारी खेतीतर्फ आकर्षित भएको हुन् ।
स्थानीय भीम बहादुर वलीले विगत ४ वर्षदेखि व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । अहिले ७ वटा टनेलमा टमाटर खेती गरेको भन्दै उनले एउटा टनेलबाट सबै खर्च कटाएर ५० हजार जति आम्दानी हुने बताए । उनले भने, ‘तोरी, मकैको खती गर्दा १०/१२ हजार पनि आम्दानी हुँदैन्थ्यो । तरकारी खेतीबाट राम्रै आम्दानी हुने गरेको छ ।’

अहिले टमाटर खेती गरेको भन्दै टमाटर पछि बोडी, सिमी लगायतको तरकारी खेती गर्ने गरेको उनको भनाइ छ । यस्तै आफूहरू अर्गानिक खेती गर्ने गरेको समेत उनले बताए । यस्तै उनले आफूहरूले उत्पादन गरेको तरकारी बजार मूल्य भने जस्तो नपाउने गरेको समेत बताए । तरकारी बिक्रीको लागि समस्या नभएको भन्दै उनले मूल्य नपाउने गरेको बताए । अर्का स्थानीय मस्त बहादुर चन्द पनि करिब १४ वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसे ।
गाउँमा व्यवसायिक रुपमा तरकारी खेती गरेको देखेपछि घर आएर विगत ३ वर्षदेखि तरकारी खेती गर्दै आएका छन् । पसिना बगाएपछि विदेशको जस्तै कमाइ हुने भन्दै अहिले १५ वटा टनेलमा टमाटर खेती गदै आएको उनको भनाइ छ । गत वर्ष ५/७ लाखको आम्दानी भएको भन्दै उनले यस पटक टमाटर राम्रो नहुँदा अलि कम आम्दानी हुने समेत बताए । यस पटक टमाटरमा कीरा लगाएर टमाटर कम उत्पादन भएको र जैविक औषधि प्रयोग गर्दा कीरा नियन्त्रणमा नआएको समेत बताए ।

उनका अनुसार उत्पादन भएको तरकारीहरू आफूहरूले तुलसीपुर बजारमा बिक्रीको लागि लैजाने गरिन्छ । उनले यसरी गाउँ मै तरकारी खेती गर्दा राम्रो आम्दानी भएको भन्दै विदेशको जस्तै पसिना बगाए नेपालमा पनि गर्न सकिने समेत बताए । आफूलाई कृषि ज्ञान केन्द्रबाट टनेल सहयोग भएको पनि बताए । यस्तै उनले आफूहरू जस्ता किसानहरूले उत्पादन गरेको तरकारीहरूको बजार व्यवस्थापन राम्रो र मूल्य पनि उत्तिकै पाउने व्यवस्था भएमा अझ थप हौसला बढ्ने बताए । उनले भने, ‘हामीले अहिले अर्गानिक तरिकाले नै तरकारी खेती गरेका छौँ । तर, हाम्रो तरकारीको मूल्य उस्तै रहेको छ । यहाँबाट तुलसीपुर बजार बिक्री गर्न लैजान समेत सडक राम्रो छैन । जसका कारण पनि निकै समस्या हुने गरेको छ ।’

यहाँका किसानहरूलाई कृषि ज्ञान केन्द्र दाङले विभिन्न सहयोग गर्दै आइरहेको छ । किसानहरूले उत्पादन गरेको तरकारी तुलसीपुर बजार ल्याएर बेच्ने गरेका छन् । स्थानीय टिका विकले पनि विगत ४ वर्षदेखि तरकारी खेती गर्दै आएको बताइन् । अहिले ४२ ओटा टनेलमा तरकारी खेती गदै आइरहेको बताइन् । तरकारी खेतीबाट राम्रै आम्दानी हुने गरेको भन्दै बेच्नको लागि कुनै समस्या नभए पनि मूल्यमा समस्या हुने गरेको बताइन् । पहिला तोरी, मकै खेती गर्ने जग्गामा अहिले तरकारी खेती गरिरहेको भन्दै आम्दानीको हिसाबले यो नै राम्रो रहेको उनको भनाइ छ ।
उनले भनिन्, ‘तोरी, मकैबाट भनेको जस्तो आम्दानी हुँदैनथ्यो । अहिले तरकारी खेतीबाट राम्रै आम्दानी भएको छ । हाम्रो जग्गाले मात्र नपुगेर भाडाको जग्गा समेत लिएर गदै आएका छौँ ।’ गाउँमा ३ सय वटा टनेलमा तरकारी खेती भइरहेको भट्टे कृषि सहकारी संस्थाका अध्यक्ष कर्ण बहादुर वलीले बताए । विगत ४ वर्षदेखि आफूहरूले अर्गानिक तरकारी खेती गर्दै आइरहेको भन्दै उनले राम्रो सडक नहुँदा तरकारी ढुवानीमा समस्या हुने गरेको बताए । गाउँबाट वार्षिक २ करोड बराबरको तरकारी निर्यात हुने उनको भनाइ छ ।
संस्थामा एक सय ११ आवद्ध सेयर सदस्य रहेको भन्दै उनले तरकारी बिक्रीमा हुने समस्या नहुने समेत बताए । यस्तै उनले गत वर्ष आफूले करिब ५० लाख बराबरको कारोबार गरेको भन्दै २०७७ सालदेखि गाउँमा कृषि सहकारी संस्थाले परम्परागत कृषि भन्दा आधुनिक खेती गर्न लागेको र राम्रो भएको बताए । अहिले आफूहरूले थोपा र सतह सिँचाइको व्यवस्था रहेको समेत बताए ।
यस्तै आफूहरूलाई कृषि ज्ञान केन्द्र दाङबाट प्रधानमन्त्री कृषि आधुनिकमा परियोजना अन्तर्गत तरकारी खेती ब्लक कार्यक्रम परेपछि किसानहरू थप उत्साहित भएर खेती गर्न थालेको समेत बताए । अहिले गाउँमा सबैले अर्गानिक खेती गरिरहेको भन्दै उनले गाउँमा सबै गड्यौला मल उत्पादन गर्नको लागि पनि गड्यौला पाल्न थालेको समेत बताए ।