घोराही – विदेशमा राम्रो कमाइ हुने आश्वासनमा दलाल तथा तेस्रो व्यक्तिलाई विश्वास गरेर पैसा बुझाएर विदेश जान खोज्दा जिल्लामा ठगिनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि माघसम्म २३६ जना ठगीमा परेका भन्दै १४८ वटा उजुरी परेका छनस जसमा करिब छ करोड ४० लाख ९० हजार रुपियाँ ठगी भएको छ ।
खाडी मुलुकभन्दा अमेरिका, क्यानडा, जापान, माल्टा, क्रोएसिया, पोर्चुगल, फ्रान्स, पोल्यान्डलगायतका देशमा आकर्षक तलब र बस्नलाई राम्रो व्यवस्था भएको भन्दै सर्वसाधारण नागरिकसँग लाखौँ रुपियाँ असुल गरेर अन्तिममा दलाल सम्पर्कविहीन भएपछि बल्ल पीडितहरू न्यायका लागि प्रहरी प्रशासनमा आउने गरेका सुरक्षित आप्रवासन सामी कार्यक्रमकी सहजकर्ता रीता लामाले बताउनुभयो ।
घोराही निवासी निर्मला अधिकारीलाई स्पेन पठाइदिने भन्दै दलालले आश्वासन दिए । स्पेनमा कमाइसँगै युरोपका अन्य देशमा जान पाइने प्रलोभन देखाएपछि दलालको विश्वासमा परेर उहाँले दलाललाई सात लाख ७७ हजार रुपियाँ दिनुभयो । दलालले भने प्रक्रिया मिलाउँदै छु भन्दै करिब एक वर्ष समय टारिदिएको र अन्ततः पठाउन नसकेपछि अहिले दलाल सम्पर्कविहीन भएको छ ।
दलाल सम्पर्कविहीन भएपछि अधिकारीले आफू ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको छ । सामी कार्यक्रमकी सूचना तथा परामर्शकर्ता लामाले श्रम स्वीकृति नगर्दा, पैसा बुझाएको प्रमाण नराख्दा, नेपालको नभई भारत तथा अन्य देशको विमानस्थल प्रयोग गरी जान खोज्ने र एजेन्टलाई सुरुमै विश्वास गरेर राहदानी र पैसा बुझाउँदा ठगिने क्रम बढेको बताउनुभयो ।


