
काठमाडौ : साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज वलीले सरकारले बनाएको खानेपानी तथा सरसफाइ ऐन २०७९ र नियमावली २०८१ खानेपानी उपभोक्ता समितिमैत्री नभएको आरोप लगाउनु भएको छ।
उहाँले ग्रामीण तहमा खानेपानी आपूर्ति गरिरहेको खानेपानी उपभोक्ता संस्थाहरुलाई करको भार थोपर्ने, स्थानीय तहले अंकुश लगाउने, उपभोक्ताबाट संकलित महसुल पनि केन्द्र सरकारलाई बुझाउनुपर्ने लगायतको व्यवस्था राखी आतंकित बनाएको बताउनुभयो।
दियाले टेक्नोलोजिज प्रा.लि.ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष वलीले संविधानको धारा ३५ को उपधारा ४ ले खानेपानी र सरसफाइलाई मौलिक हक पनि भन्ने र व्यवहारमा उपभोक्ता समितिको मौज्दात रहेको रकममा २५ प्रतिशत कर पनि लगाउने सरकारको द्धैत चरित्र सह्य नभएको बताउनुभयो । ‘सरकार आफ्नो दायित्वबाट पन्छिने काम गरिरहेको छ, हामीले बल्लतल्ल जम्मा गरेको बचत रकममा २५ प्रतिशत कर लगाउने र २ हजार भन्दा बढी धारा संख्या भएको उपभोक्ता समितिले संकलन गरेको महसुलको पनि १ प्रतिशत रकम बुझाउनुपर्ने व्यवस्था हामीलाई मान्य हुने छैन’ उहाँले भन्नुभयो।
कतिपय स्थानीय सरकारले खानेपानी उपभोक्ता समिति माथि हस्तक्षेप गरेर मुद्दा मामिलाको स्थिति सिर्जना भैरहेको बेला खानेपानी तथा सरसफाइ ऐन र नियमावलीले खानेपानी उपभोक्ता समितिहरु खारेज र विघटन गर्ने अधिकार स्थानीय सरकारलाई दिएपछि अझ द्वन्द्व बढ्ने उहाँले बताउनुभयो। ‘खानेपानीको पूर्वाधार निर्माणमा तीनै तहको सरकारको दायित्व हुने, दर्ता स्थानीय सरकारमा गर्नुपर्ने र स्थानीय सरकारलाई चित्त बुझेन भने खारेज गर्ने, विघटन गर्ने सम्मको अधिकारले झनै द्वन्द्व सिर्जना गर्छ’ उहाँले भन्नुभयो।
उहाँले खानेपानी उपभोक्ता संस्थाहरु विशुद्ध सामाजिक संस्था भएकाले राज्यले नाफामूलक संस्थालाई गरिने जस्तो व्यवहार गर्न नहुने बताउनुभयो। उपभोक्तालाई खानेपानी खुवाउने, सम्पत्ति व्यवस्थापन गर्ने लगायत कार्य उपभोक्ता समिति विना सम्भव नरहेको उहाँले प्रष्ट पार्नुभयो।
कार्यक्रममा सुरक्षित र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन प्रविधिले खेल्न सक्ने भूमिका, नेपाल सरकार, बिकास साझेदार लगायत खानेपानी क्षेत्रमा कार्यरत सरोकारवालाहरू बीच सहकार्यका सम्भाव्य क्षेत्रहरू र खानेपानीको प्रभावकारी सन्चालन तथा चुहावट नियन्त्रण, सम्पत्ति व्यवस्थापन र पानीको गुणस्तर सुधार गर्दै सेवा प्रवाहलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।