प्रादेशिक आयुर्वेद चिकित्सालयका निर्देशकको बिदाई

बिजौरी । दाङको बिजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डा.सन्तोष ठाकुरलाई शुक्रवार बिदाइ गरिएको छ । करिब तिन वर्षको कार्यकाल बिताएर सरुवा भएर जान लागेका निमित्त निर्देशक ठाकुरलाई अस्पतालले एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो ।

प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त निर्देशक कविता खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको बिदाई कार्यक्रममा बोल्ने वक्ताले डा.ठाकुरले यस अस्पतालमा खेलेको उच्च प्रशासकीय एवम् व्यवस्थापकीय भूमिकाको सराहना गर्दै उनले यस अस्पतालमा दिएको योगदान बारे चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख खड्काले डा.ठाकुर एक कुशल प्रशासक मात्र नभएर कुशल संगठक रहेकाले यो अस्पतालको भौतिक सुधार एवम् चिकित्सकीय सुधारमा अपेक्षित उपलब्धि हासिल हुन सम्भव भएको बताए । साथै उनले थालेका अधुरा कामलाई पूरा गर्न र गराउन स्थानीय सरकारको प्रमुखका नाताले आफूले भूमिका निर्वाह गर्ने बताए ।

बिदाई कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्राध्यापक माधव अधिकारीले अस्पताल र नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पसबिचको सम्बन्ध र सहयोग स्थापित गर्न डा.ठाकुरले प्रशंसनीय भूमिका निर्वाह गरेको बताउँदै यसलाई आगामी नेतृत्वले निरन्तरता दिने अपेक्षा गरे । कार्यक्रममा पत्रकार वंशिकुमार शर्मा, चिकित्सालयका पूर्व विकास समिति अध्यक्ष विष्णुकुमार आचार्य, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु डा पदमराज अधिकारी, आयुर्वेद केन्द्रीय विद्यपीठका उपप्राध्यापक डा मंगलाकान्त झा, आयुर्वेद विद्यपीठ बेलझुण्डीका प्राचार्य डा रामचन्द्र अधिकारी, अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष कृष्णबहादुर बस्नेतलगायतले डा ठाकुरले अस्पतालमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै बाँकी अधुरा कामलाई भावि नेतृत्वले पूरा गर्नुपर्ने सल्लाह र सुझाव दिएका थिए ।

बिदाई कार्यक्रममा बोल्दै सरुवा भएर जान लागेका डा.ठाकुरले आफू नेपाल सरकारको वफादार कर्मचारी मात्र भएको बताउँदै सरकारले दिएको जिम्मेवारी पूरा गरेको बताए । साथै आफू नेतृत्वमा रहँदा यो अस्पतालमा आफूले थालेका सम्पूर्ण काममा सहयोग पु¥याउने सबै कर्मचारी तथा चिकित्सकलाई धन्यवाद दिए । आफू यहाँ नरहे पनि यो अस्पतालको श्रीवृद्धिमा आफू सदैव सकारात्मक भएर लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

३५ वर्षकै उमेरमा सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएर आयुर्वेदको नेतृत्व गर्दै आएका ठाकुरकै पहलमा भारतको विश्वविद्यालयले नेपाल संस्कृत विश्वविद्यालयमा बिएएमएस उत्तीर्ण गरेकालाई एमडी अध्ययन गर्न स्वीकृति दिएको थियो । डा.ठाकुर आयुर्वेद चिकित्सा काउन्सिलका वर्तमान अध्यक्ष हुन् । अस्पतालका कर्मचारी डा आस्मा केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बसन्तबहादुर केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस