काठमाडौंँ / प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको आगामी पुस २१ र २२ गते बस्ने केन्द्रीय समिति बैठकको तयारीमा जुटेको छ।अहिलेसम्म बैठक स्थलको टुंगो लागेको र कार्ड छाप्ने तयारी भइरहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
उनका अनुसार धुम्बारहीस्थित एक पार्टी प्यालेसमा बैठक बस्ने भएको छ। जम्बो आकारको केन्द्रीय समिति भएकाले माओवादीले बैठकका लागि पार्टी प्यालेस रोजेको हो। माओवादीको केन्द्रीय समिति बैठकमा ८२५ जना सहभागी हुने सचिव उपाध्यायले जानकारी दिए। उनका अनुसार पूर्ण केन्द्रीय सदस्य ४०९, बैकल्पिक केन्द्रीय सदस्य २०५, केन्द्रीय आयोगका पदाधिकारी ७५ र प्रदेश समितिका पदाधिकारी १२५ जनाको बैठकमा सहभागिता हुनेछ।
केन्द्रीय समिति बैठकअघि माओवादी केन्द्रले पुस १८ गते स्थायी समिति बैठक बोलाएको छ। स्थायी समिति बैठकले केन्द्रीय समितिका एजेन्डाबारे थप निर्णय लिनेछ। बैठकमा राजनीतिक प्रतिवेदन समेत पेस गरिनेछ, जसको तयारीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागिसकेको उपाध्यायले जानकारी दिए।
लामो समयको अन्तरालपछि बस्न लागेको माओवादीको केन्द्रीय समिति बैठकले आगामी महाधिवेशन, विभिन्न पार्टीसँगको एकता, प्रमुख प्रतिपक्षीका रुपमा आगामी दिनमा लिने नीति लगायतका विषयमा छलफल गरेर निर्णय लिनेछ।


