भाडामुक्त बन्दै तुलसीपुरमा वडा,कृषि,पशु र स्वास्थ्य संस्था आफ्नै भवनबाट सेवा

तुलसीपुर उपमहानगरपालिका भाडामुक्त पालिकारुपमा बन्न थालेको छ । उपमहानगरपालिकाका १८ वटै वडा कार्यालयहरुले आफ्नै भवनबाट सेवा दिइरहेका छन् । भाडामा रहेको तुृलसीपुर उपमहानगरपालिका वडा नम्बर १९लेसमेत अब भने आफ्नै भवनबाट सेवा सुरु गर्न थालेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाको सेवा आफ्नै भवनबाट सुरु गर्नका लागि संरचना निर्माण कार्यलाई प्राथमिकता क्रममै राखिएको बताउनुभयो । उहाँले वडा कार्यालय,स्वास्थ्य चौकी,कृषि,पशु शाखालगायत पालिकाअन्तर्गतका आफ्नै भवनबाट नगरवासीलाई सेवा दिने गरी काम अघि बढेको बताउनुभयो ।
नगरप्रमुख खड्काले पालिका भाडामुक्त बन्न थालेपछि रकम बचतका साथै पालिकाका जग्गाको संरक्षणसमेत हुन थालेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ले हाडिमेबाट सेवा दिदै आएको थियो । औपचारिकरूपमा मङ्सिर २२ गतेबाट तोप्पापानीमा नव निर्मित वडा कार्यालय भवनबाट सेवा दिने वडाध्यक्ष प्रेमनाथ योगीले बताउनुभयो । योगीका अनुसार हाडिमेमा वडा कार्यालय सञ्चालनका लागि मासिक १३ हजार पाँच सय भाडा बुझाउँदै आएको थियो । वडाध्यक्ष प्रेमनाथ योगीले वडाको मध्यभागमा रहेको वडा भवनको प्राङ्गन सम्याउने काम सुरु भएको र सुरक्षाका लागि पर्खाल निर्माणको काम सुरु गरिएको बताउनुभयो ।

त्यस्तै भाडाबाटै सञ्चालन हुँदै आएका कृषि र पशु शाखासमेत आफ्नै भवनबाट सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताउनुभयो । उहाँले पालिकाका सबै शाखा,स्वास्थ्य संस्थाहरु क्रमशः आफ्नै भवनबाट सेवा दिन सुरु गरिएको बताउनुभयो । कृषि शाखाका प्रमुख धनराज गौतमले मासिक ३३ हजार दुवै शाखाको भाडा तिर्दै आएकोमा मङ्सिर महिनाबाट भने आफ्नै भवनबाट सेवा सुरु गरेको बताउनुभयो ।
पालिकाका स्वास्थ्य संस्थासमेत भाडामुक्त बन्न थालेका छन् । अहिले वडा नम्बर ५र६बाहेकका सम्पूर्ण स्वास्थ्य संस्थाहरू आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस