सन्तान जन्माएपछि आमाबुवालाई आफ्नो बच्चाको हेरचाह कसरी गर्ने भन्ने चिन्ता हुन्छ । यस्तो अवस्थामा उनीहरू आफूभन्दा अग्रजलाई शिशुको हेरचाहसम्बन्धी ज्ञान लिने गर्छन् । अहिलेको अभिभावकत्व र पहिलेको अभिभावकत्वमा धेरै भिन्नता छ ।
पहिलेका जमानामा बालबालिकालाई स्वस्थ राख्न मानिसले केही परम्परागत कुरा अपनाउने गर्थे, जसले अञ्जानमा शिशुहरूको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । त्यसैले शिशुको हेरचाह गर्ने क्रममा परम्परागत उपाय अपनाउनुअघि चिकित्सकको सल्लाह लिनु उपयोगी हुन्छ ।
मह चटाउने
शिशुलाई जन्मेपछि तुरुन्तै मह चटाउने गरिन्छ । महमा क्लोस्ट्रिडियम बोटुलिनम हुनसक्छ, जसले एक वर्षमुनिका शिशुहरूमा बोटुलिजम निम्त्याउन सक्छ । बोटुलिजम एक दुर्लभ तर सम्भावित घातक रोग हो, जुन ब्याक्टेरियाद्वारा उत्पादित विषको कारण हुन्छ । जसले स्नायु प्रणालीलाई लक्षित गर्छ र पक्षघात तथा श्वासप्रश्वासको समस्या निम्ताउन सक्छ । केही बच्चामा महले संक्रमण पनि हुनसक्छ ।
शिशुको निप्पल निचोर्ने
धेरैले बच्चालाई मालिस गर्दा निप्पल निचोरिदिने गर्छन्, जसबाट दूध जस्तै पदार्थ बाहिर निस्कन्छ । तर यसो गर्नबाट जोगिनुपर्छ, किनभने यसले बच्चाहरूको निप्पलमा रातोपन, दुखाइ र जलन निम्त्याउन सक्छ । थप रूपमा यसले निप्पलभित्र संक्रमण बढाउन सक्छ ।
गाजल लगाइदिने
नवजात शिशुको आँखा धेरै संवेदनशील हुन्छ । यस्तो अवस्थामा गाजल लगाउँदा त्यसमा हुने रसायनको प्रयोगले बच्चालाई हानि पुर्याउन सक्छ । गाजल लगाउँदा आँखा रातो हुने, पोल्ने, संक्रमण हुने समस्या आउँछ । गाजलले आँसु आउने बाटो अवरुद्ध पार्ने भएकाले झन् धेरै आँसु बग्ने समस्या बढ्न सक्छ । गाजलले कोही कोही बच्चामा एलर्जी समेत गराउँछ । त्यसैले शिशुको आँखामा गाजल नलगाइदिनु नै राम्रो हुन्छ ।
पाउडर लगाइदिने
नवजात शिशुलाई नुहाइसकेपछि पाउडर लगाइदिने गरिन्छ । शिशुलाई पाउडर प्रयोग गर्दा त्यो नै छालामा टाँसिएर बस्ने र झन् फोहोरी बनाउने गर्छ । यसले गर्दा बच्चामा छालाको समस्या र जलन हुने सम्भावना बढी हुन्छ । साथै शिशुले सास फेर्दा पाउडरको थोरै कण सासभित्र गएमा बच्चाको फोक्सोमा असर गर्ने श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम हुने, सास फेर्न गाह्रो हुने पनि हुनसक्छ ।
नाक वा कानमा तेल हालिदिने
कतिपयले शिशुलाई तेल लगाइदिंदा नाक, कानमा तेल हाल्दिन्छन् । कानमा तेल हाल्दा कानेगुजी फुलेर डम्म हुने र ढुसी पर्ने हुन्छ । जसकारण शिशुमा कान चिलाइरहने समस्या हुन्छ । साथै, नाक र कानमा तेल हाल्दा संक्रमण पनि हुनसक्छ ।
एकै पटक धेरै कपडा लगाइदिने
बच्चालाई बढी जाडो हुन्छ भनेर कपडा धेरै लगाइदिने र सेक्ने चलन पनि छ । तापक्रमअनुसार कपडा लगाइदिनुपर्छ । जाडो छ भन्दैमा धेरै कपडा लगाइदियो भने बच्चालाई हिंड्न समस्या हुने, गुम्सिने र पसिना आउने लगायत समस्या हुन्छ ।
शिशुलाई बेसार र बेसनले नुहाइदिने
शिशुलाई रसायनयुक्त साबुन तथा स्याम्पुको साटो बेसार तथा बेसनले नुहाइदिनु राम्रो हुन्छ भनेर त्यसले नुहाइदिने गरेको पनि पाइन्छ । तर बेसार, बेसन हेर्दा देखिएजस्तो नरम नहुन सक्छ । बेसनले छालालाई सुक्खा बनाउँछ । यसको प्रयोगले शिशुको छालामा र्यासेस आउन सक्छ । शिशुका लागि बनाइएका बेबी प्रोडक्ट यी भन्दा धेरै सुरक्षित हुन्छन् ।