टेस्टोस्टेरोन हर्मोनलाई पुरुष हर्मोन पनि भनिन्छ । पुरुषहरूमा यो हर्मोन उच्च हुन्छ । जसले शरीरको मांसपेशी बलियो तथा हृष्टपुष्ट बनाउन, रौं वृद्धि गर्न, स्वर धोद्रो बनाउने काम गर्छ ।
यो हर्मोन तुलनात्मक रूपमा महिलामा कमै मात्रामा देखिन्छ । तर यदि महिलामा कुनै समस्याले गर्दा टेस्टोस्टेरोन हर्मोनको मात्रा अत्यधिक रूपमा उच्च भएमा पुरुषमा जस्तै अनुहारमा रौं बाक्लो आउने, शरीरको स्वरुपमा परिवर्तन आउने जस्तो लक्षण देखिन्छ ।
फलस्वरुप यसले विभिन्न स्वास्थ्य समस्या उत्पन्न गराउँछ ।
कस्तो अवस्थामा यो हर्मोन महिलामा उच्च हुन्छ ?
पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस)
यो महिलामा हुने डिम्बाशयसँग सम्बन्धित समस्या हो । जसकारण महिलाको शरीरमा हर्मोनल असन्तुलन हुन थाल्छ ।
यस्तो अवस्थामा महिलाको शरीरमा महिला हर्मोनको सट्टा पुरुष हर्मोन (एन्ड्रोजन) र टेस्टोस्टेरोनको स्तर बढी हुन थाल्छ । जसकारण पुरुषको जस्तो लक्षण देखा पर्छन् ।
यो हर्मोन उच्च हुँदा डिम्बाशयमा स–साना तरल पदार्थले भरिएको फोकाहरु वृद्धि गराई महिनावारीमा अनियमितता गराउने, गर्भ बस्नमा समस्या गराउने र तौल बढ्ने जस्ता समस्या पनि गराउँछ ।
एड्रिनल ग्रन्थीको रोग
एड्रिनल ग्रन्थीको काम भनेको शरीरमा स्टोराइड हर्मोन, एड्रिनेलिन र नन–एड्रिनेलिन लगायत हर्मोन उत्पादन निकाल्नु हो । ती हर्मोनले शरीरमा रक्तचाप, मेटाबोलिजम, ग्लुकोज नियन्त्रण र अन्य शरीरको कार्य प्रणालीमा मद्दत गर्छ ।
कुनै कारणवश एड्रिनल ग्रन्थीमा समस्या भएमा टेस्टोस्टेरोन हर्मोन अत्यधिक उत्पादन हुनसक्छ ।
वंशाणुगत
कसैमा यो वंशाणुगत कारणले पनि हुनसक्छ । परिवारमा पहिला नै महिला सदस्यमा यो समस्या थियो भने पछिका सन्तानमा यो समस्या नहोला भन्न सकिन्न ।
औषधि र स्टेरोइडको प्रयोग
केही महिलामा एनाबोलिक स्टेरोइडहरूको प्रयोगले टेस्टोस्टेरोनको मात्रा वृद्धि गराउँछ । यो समस्या विशेषगरी महिला खेलाडीहरुमा देखा पर्न सक्छ, जो मांसपेशीको वृद्धि गर्नका लागि स्टेरोइडको प्रयोग गर्छन् ।
रजोनिवृत्ति र टेस्टोस्टेरोनको सम्बन्ध
रजोनिवृत्ति समयमा इस्ट्रोजेन र प्रोजेस्टेरोन जस्ता हर्मोनहरूको उत्पादनमा गिरावट आउँछ । जब यी हर्मोनहरूको उत्पादन घट्छ, टेस्टोस्टेरोनको स्तरमा असन्तुलन हुनसक्छ । यसले गर्दा केही महिलामा टेस्टोस्टेरोनको स्तर अपेक्षाभन्दा बढी हुनसक्छ ।
क्यान्सरको कारण
केही महिलाहरूमा पाठेघर वा एड्रिनल ग्रन्थीको क्यान्सरले पनि टेस्टोस्टेरोनको मात्रा अत्यधिक बनाउँछ ।
के कस्ता परिवर्तन देखिन्छ ?
अनुहार र शरीरमा अत्यधिक रौं पलाउँछ
महिलाहरूमा टेस्टोस्टेरोनको स्तर उच्च हुने समस्यालाई चिकित्सकीय भाषामा हिर्सुटिजम भनिन्छ । हिर्सुटिजमका कारण महिलाको अनुहार, छाती, ढाड लगायत शरीरका विभिन्न भागमा बाक्लो रौंको वृद्धि हुँदै जान्छ ।
यसरी रौं आउँदा महिलाको सौन्दर्यमा प्रत्यक्ष असर पुर्याउँछ । जुन मानसिक तनावको कारण पनि बन्न सक्छ ।
आवाजको परिवर्तन
टेस्टोस्टेरोनको उच्च मात्राले महिलाहरूको आवाजलाई गहिरो बनाउन सक्छ, जुन सामान्यतया पुरुषहरूको आवाजसँग मिल्दोजुल्दो हुन्छ ।
यसले उनीहरूको आत्मविश्वासमा पनि असर पुर्याउन सक्छ । अरुले पनि आवाज सुनेर खिस्याउने गर्न सक्छन् । उनीहरुलाई पनि आफू पुरुष हो कि महिला भन्ने दोधारमा समेत पार्न सक्छ ।
छालाको समस्या
टेस्टोस्टेरोनको मात्रा बढ्दा छालामा अत्यधिक चिल्लोपन बढ्न सक्छ, जसले गर्दा अनुहारमा बिमिरा ९एक्नी० र छाला सम्बन्धी अन्य समस्या आउन सक्छ । यसले छालामा पोतो, कालो धब्बा (डार्क स्पट्स) र दागहरू पनि देखिन सक्छन् ।
यौन इच्छामा तीव्र वृद्धि
टेस्टोस्टेरोनले यौन इच्छा बढाउन सक्छ । महिलामा यो हर्मोनको मात्रा अत्यधिक रूपमा बढ्दा यौन इच्छामा वृद्धि हुनसक्छ । चाहिने भन्दा बढी यौन इच्छा बढ्दा व्यक्तिगत जीवनमा समस्या ल्याउन सक्छ ।
प्रजनन् समस्या
टेस्टोस्टेरोनको अत्यधिक मात्राले प्रजनन् क्षमतालाई असर पुर्याउन सक्छ । यसले डिम्बाशयको कामलाई गडबड बनाउँछ, जसकारण गर्भधारण गर्न समस्या हुनसक्छ ।
मांसपेशीको वृद्धि
महिलामा टेस्टोस्टेरोनको उच्च स्तरले मांसपेशीको वृद्धि गर्न सक्छ, जसले शरीरलाई पुरुषको जस्तै धेरै बलियो र मर्दाना देखाउन सक्छ । यो परिवर्तन महिलाका लागि अवाञ्छित हुनसक्छ ।
के गर्न सकिन्छ ?
यस्तो समस्याको जति छिटो उपचार त्यति छिटो नियन्त्रण हुन्छ । त्यसैले यदि माथि उल्लेखित असामान्य लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य परीक्षण गराउनुपर्ने आवश्यकता हुन्छ ।
यदि महिलाहरूमा टेस्टोस्टेरोनको स्तर उच्च देखियो भने चिकित्सकको सल्लाह अनुसार हर्मोनको स्तर जाँच गर्नु आवश्यक हुन्छ । त्यसपछि हर्मोनको स्तर के कारणले उच्च भएको हो भनेर लक्षण अनुसारको परीक्षण पनि हुन्छ । कारण पत्ता लगाएपछि सही परामर्श र केही औषधिको प्रयोगले यो समस्या नियन्त्रण गर्न सकिन्छ ।
चिकित्सकीय उपचारसँगै स्वस्थ जीवनशैली, सन्तुलित आहार र नियमित व्यायामले पनि हर्मोनको सन्तुलन कायम राख्न मद्दत गर्छ ।