बाहिर ‘जनै’ को त्यान्द्रो
भित्र भोको आन्द्रो
फुटेको तकदिर
न मठ न मन्दिर
मलाई यो देशमा बस्ने मनै छैन
त्यसैले, मेरो आङमा ‘जनै’ छैन
घरको कालो अँधेरो हटाउन
म भारतको काला पहाडमा
बाङ्गो शरीर अनि नाङ्गो खुट्टामा
आङमा नाम्लो भिरेर
मजदुरीको भारी बोक्छु
तर ‘जनै’ बोक्दिनँ
राजनैतिक काला दिन, साहूको ऋण
कलेजो काटि दिँदा छिन् छिन्
ुजनैुलाई झाडीमा मिल्काएर
पेट पाल्न म खाडी जान्छु
बेल्चा र घन बोक्छु
तर ‘जनै’ बोक्दिनँ
सपनामा टाँसिन्छु, युरोप अमेरिका भासिन्छु
दिमाग ताछेर होस्
वा गाईको मासु पाक्ने
जुठो भाँडा माझेर होस्
म डलर बोक्छु
तर म ‘जनै’ बोक्दिनँ
बेथितिको सिरेटोमा
मेरो आङ नांगो
नेताको ऐश, खोक्रो देश
बाक्लो बोक्रो, गलेको हाँगो
जति बटारे पनि, जति लगाए पनि
पसिनाले गल्ने यो ‘जनै’ को धागो
प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार