दिमागको एकाग्रतालाई असर गर्ने पपकर्न ब्रेन सिन्ड्रोम के हो ?

के तपाईं दिनभरि मोबाइलमा कहिले ह्वाट्सएप, कहिले फेसबुक र कहिले इन्स्टाग्राम स्क्रोल गर्दै बिताउनुहुन्छ ? कुनै एउटा कुरामा ध्यान केन्द्रित गर्न सक्दिनँ के भएको होला भनेर सोच्दै हुनुहुन्छ ? तपाईंलाई पपकर्न ब्रेन सिन्ड्रोम भएको हुनसक्छ ।

सामाजिक सञ्जालमा बढी सक्रिय हुने व्यक्तिलाई यसले सताउने गर्छ । यो सिन्ड्रोमले मस्तिष्कलाई असर गर्नुका साथै मस्तिष्कको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्छ ।

के हो पपकर्न ब्रेन सिन्ड्रोम ?

यो सिन्ड्रोमले मस्तिष्कको एकाग्रतालाई असर गर्छ । यसमा मस्तिष्क एउटा कुरा देखेलगत्तै दोस्रो र तेस्रो कुरा हेर्न दौडिन्छ । दिमागलाई हरेक समय केही नयाँ चाहिन्छ । पपकर्न ब्रेन सिन्ड्रोममा मस्तिष्कले दुई वर्षको बच्चाको जस्तै काम गर्छ । जसरी बालबालिकालाई हरेक दिन नयाँ गतिविधि चाहिन्छ, त्यसैगरी पपकर्न ब्रेन सिन्ड्रोमबाट पीडित व्यक्तिलाई हरेक पल केही न केही नयाँ चाहिन्छ । यस्तो अवस्थामा मन अस्थिर हुन्छ र व्यक्तिमा ध्यान केन्द्रित हुँदैन ।

एक अनुसन्धानअनुसार जब मानिसको कुनै पनि कुरामा ध्यान केन्द्रित गर्ने क्षमता कम हुन्छ, तब उसलाई पपकर्न सिन्ड्रोम भएको मान्न सकिन्छ । सन् २००४ मा एक व्यक्तिले टिभी हेर्दा च्यानल परिवर्तन गर्न साढे दुई मिनेट खर्च गर्ने गर्थ्यो भने २०१२ मा यो समय घटेर डेढ मिनेट र आज २०२४ मा मोबाइल वा टिभीको स्क्रिनमा हेर्ने समय घटेर ४७ सेकेन्ड पुगेको छ । अर्थात् ४७ सेकेन्डपछि मानिसको दिमागले अरू केही हेर्न वा सुन्न चाहिरहेको हुन्छ ।

पपकर्न सिन्ड्रोमले स्मरण क्षमतालाई कमजोर बनाउँछ

विज्ञहरूका अनुसार पपकर्न ब्रेन सिन्ड्रोमबाट पीडित मानिसहरू कुनै पनि काममा ध्यान दिन सक्दैनन् । समयमै यसको उपचार गरिएन भने बिस्तारै सिकाइ र स्मरण शक्तिमा नकारात्मक असर पर्छ । साथै यसले व्यक्तिको भावनालाई पनि असर गर्छ । मानिसको दिमाग अस्थिर रहन्छ, जसकारण उसले महत्त्वपूर्ण कुराहरूमा ध्यान दिन सक्दैन ।

पपकर्न सिन्ड्रोममा मस्तिष्कलाई डिजिटल संसारमा जस्तै ‘मल्टिटास्किङ’ एकै समयमा धेरै काम गर्ने र ‘स्क्रोलिङ’ एउटा कुरामा केन्द्रित हुन नसक्ने लत लाग्न थाल्छ र मस्तिष्कले काम गर्दा पनि त्यस्तै प्रतिक्रिया दिन्छ र विचारहरू पपकर्न जस्तै घुम्न थाल्छन् ।

यो सिन्ड्रोमले मस्तिष्कको कार्य प्रणालीलाई असर गर्छ, जसकारण व्यक्तिले कहिलेकाहीं आफ्नो अगाडि राखिएको चीजहरू भेटाउँदैन । यस बाहेक मानिसले याद गरेको कुरा तुरुन्तै बिर्सन्छ ।

‘पपकर्न ब्रेन’ मानसिक स्वास्थ्यको संसारमा चिन्ताको नयाँ विषय हो । ३०, ६० र ९० सेकेन्डको रिल्स र सर्टले मानिसलाई केही समयको लागि रमाइलो दिइरहेको हुनसक्छ तर अन्त्यमा यसले पपकर्न सिन्ड्रोमको सिकार बनाउँछ । युवा मात्र होइन, वृद्धवृद्धा, किशोरकिशोरी र बालबालिका समेत यसको सिकार भइरहेका छन् ।

सन् २०१७ मा फेसबुकले एक तथ्यांक सार्वजनिक गरेको थियो । जसमा कम्पनीले भनेको थियो, प्रत्येक दिन एक साधारण प्रयोगकर्ता ३०० फिट स्क्रिन स्क्रोल गर्छन् र यो एक महिनामा २.७ किलोमिटर हुन्छ । जुन समयमा यो डाटा सार्वजनिक भएको थियो, सामाजिक सञ्जालमा सर्ट र भिडियोहरू लोकप्रिय थिएनन्, त्यसैले अहिले यो संख्या पहिलेको भन्दा धेरै बढेको हुनसक्छ ।

पपकर्न ब्रेन सिन्ड्रोमका लक्षण

– कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न नसक्नु

– कुनै पनि काम गर्न दबाब महसुस हुनु

– सिक्न र सम्झिन कठिनाइ हुनु

– नयाँ योजना बनाउन र अरूको कुरा सुन्न कठिनाइ हुनु

पपकर्न ब्रेनबाट बच्ने उपाय

विशेषज्ञहरूका अनुसार यो सिन्ड्रोमबाट बच्न मानिसले पहिले सामाजिक सञ्जालमा कति समय बिताउने भन्ने निर्णय गर्नुपर्छ । यसबारे समयतालिका नै बनाउनुपर्छ ।

कार्यालयमा कामको बीचमा ब्रेक लिंदा मोबाइल प्रयोग गर्नुको सट्टा साथीहरूसँग कुरा गर्नुपर्छ । खाना खाँदा मोबाइलको प्रयोग गर्नु हुँदैन । पत्रपत्रिका पढ्ने बानी बसाउनुपर्छ । आफ्ना रुचिका कामका लागि समसय निकाल्नुपर्छ ।

दिनभरको दिनचर्याको तालिका बनाउने र प्रकृतिसँग समय बिताउने गर्नुपर्छ । महत्त्वपूर्ण कामहरूलाई प्राथमिकतामा राख्ने, महत्त्वपूर्ण काम पहिले पूरा गर्ने र समय–समयमा नियमित विश्राम पनि लिनुपर्छ ।

यो समस्याबाट बच्न एकपटकमा एउटा काममा मात्र ध्यान केन्द्रित गर्ने, व्यायामका लागि पनि समय निकाल्ने गर्नुपर्छ ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस