दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट तयारी सुरु गरेको छ । यसका लागि मन्त्रालयगत तथा विभिन्न निकायसँग बजेटका बारेमा छलफल भइरहेको अर्थ मन्त्रालयका उपसचिव सुरेन्द्र पाण्डेले जानकारी दिनु भयो ।
मन्त्रालयले पूर्व बजेटका बारेमा छलफल गर्ने काम गरिराखेको उनको भनाइ छ । मन्त्रालयहरूलाई बजेटको सिलिङ समेत दिएको उहाँले बताउनु भयो ।
‘हामी आउँदो आर्थिक वर्षका लागि बजेटको तयारीमा छौँ,’ उपसचिव पाण्डेले भन्नुभयो । कर्मचारीकोतर्फबाट बजेटको काम भइरहेको उहाँले बताउनुभयो । नीतिगत रूपमा राजनीतिक नेतृत्वबाट अगाडि बढाइने छ । तर राजनीतिक नेतृत्व जोगाउन प्राथमिकता दिएको देखिन्छ । यसले गर्दा बजेटको कामले प्राथमिकता नपाएको हो । केही दिनमा नीति कार्यक्रमको टुङ्गो लगाएर सरकारले नीति कार्यक्रम ल्याउने अर्थ मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा कम बजेट ल्याउने तयारी गरेको बताइएको छ । स्रोतको व्यवस्थापन गरेर त्यसैअनुसार बजेट ल्याउने बताइएको हो । मन्त्रालय स्रोतकाअनुसार आउँदो आर्थिक वर्षका लागि करिब ३० अर्ब बजेट ल्याउने तयारी गरिएको छ । संघीय सरकारले प्रदेश सरकारलाई चालु आर्थिक वर्षका लागि २० अर्ब बजेट पठाउने भनेर जानकारी गराएको मन्त्रालय स्रोतले बतायो ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले लिएको राजस्व लक्ष्य अनुसार सङ्कलन हुन नसकेपछि आगामी आर्थिक वर्षमा बजेट घटाएर ल्याउने प्रदेश सरकारको तयारी छ । समयमै बजेट निर्माणको काम हुन नसक्दा हतारमा काम गर्नुपर्ने भएकाले पर्याप्त मात्रामा गृहकार्य तथा छलफल समेत हुन नसक्ने देखिएको छ ।
संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले प्रदेश सभामा असार १ गते बजेट पेश गर्नुपर्छ । त्यसभन्दा पहिले नीति कार्यक्रम ल्याउने गरिन्छ । संघीय सरकारले जेठ १५ मा संसदमा बजेट पेश गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ ।


