बेबी पाउडरबाट क्यान्सर मामिला राफसाफ गर्न साढे ६ अर्ब डलर क्षतिपूर्ति तिर्दै जोन्सन एन्ड जोन्सन

अमेरिकी बहुराष्ट्रिय फर्मा तथा मेडिकल प्रविधि कम्पनी जोन्सन एन्ड जोन्सनले बेबी पाउडरको प्रयोगका कारण क्यान्सर भएको भन्दै कम्पनीविरुद्ध दायर भएको मुद्दाहरू राफसाफ गर्न अर्बौँ डलर तिर्ने भएको छ ।

कम्पनीको एउटा सहायक कम्पनीले यस मामिलामा २५ वर्षको अवधिमा पीडितहरूलाई ६ अर्ब ४८ करोड डलर क्षतिपूर्ति तिर्ने प्रस्ताव गरेको हो । ट्याल्कम–बेस्ड बेबी पाउडरको प्रयोगका कारण पाठेघरको क्यान्सर भएको भन्दै कम्पनीमाथि अमेरिकामा दसौँ हजार मुद्दा दायर भएका थिए । यस्तै केही मुद्दामा अदालतले कम्पनीलाई करोडौँ डलर क्षतिपूर्ति तिर्न आदेश पनि दिइसकेको थियो ।

जेएन्डजेको ट्याल्कम बेबी पाउडरले पाठेघरको क्यान्सर वा फोक्सो र अन्य अङ्गलाई हानी पुर्‍याउने मेसोथेलियोमा गराउन सक्ने दाबी सन् २०२० मा मुद्दामा पीडितहरूले गरेका थिए । कम्पनीले सन् २०२२ मा विश्वभर यो पाउडरको विक्री बन्द गर्ने घोषणा गरेको थियो । बेबी पाउडरको प्रयोगका कारण क्यान्सर भएको भन्दै कम्पनीविरुद्ध अमेरिकाका दर्जनौँ राज्यमा ६० हजारभन्दा बढी मुद्दा दायर भएका छन् ।

यी दाबीकर्ताहरूलाई भुक्तानी दिन र अदालत बाहिरै मामिला राफसाफ गर्न गर्न जेएन्डजेले आफ्नो सहायक कम्पनीलाई दामासाहीमा लैजान खोजेको थियो ।

तर, कम्पनीले अहिलेसम्म पनि आफूले बनाएको पाउडरमा खराबी रहेको कुरालाई भने स्वीकार गरेको छैन । पाउडरकै कारण क्यान्सर भएको आरोपलाई उसले निराधार बताउँदै आएको छ । बेबी पाउडरले क्यान्सर गराएको सबै मामिलाहरू राफसाफ गर्न कम्पनीले ११ अर्ब डलर छुट्याउन खोजिरहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस