काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितसँग दीर्घकालीन समस्या समाधानका विषयमा छलफल गर्नुभएको छ । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा रहनुभएका उपप्रधान एवं गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्नुभएको हो ।
छलफलमा गृहमन्त्री लामिछानेले आयोगले थालेको जानकारी दिँदै आयोगले अनुचित लेनदेनसँग सम्बन्धित आवेदन पुनः मागेर घटनाको प्रकृति अनुसार सबै पीडितले न्याय पाउने आश्वासन दिनुभयो ।
गृहमन्त्री लामिछानेले घटनाको अध्ययन गरी आयोगले निष्कर्ष दिने भएकाले केही समय धैर्य गर्न पनि आग्रह समेत गर्नुभयो ।
गृहमन्त्रीसँगको छलफलमा पीडित पक्षले साहुकारको एकलौटी दाबीका आधारमा दायर गरिएका रिटमा दिएको अदालतको आदेशका आधारमा आफूहरूमाथि भइरहेको धरपकड भइरहेको भन्दै रोक्न माग गर्नुभएको थियो ।
पीडित पक्षले प्रहरीले पीडितको इच्छाविपरित जबरजस्त मिलापत्र गराउने काम गरिरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
जवाफमा गृहमन्त्री लामिछानेले मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा पीडितले न्याय पाउनेगरी काम गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र प्रहरी प्रमुखलाई आवश्यक निर्देशन दिने बताउनु भएको थियो ।