स्वास्थ्यकर्मीहरुलाई नेतृत्व विकास, संगठन व्यवस्थापन विषयमा प्रशिक्षण

तुलसीपुर । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा नेतृत्व विकास, संगठन व्यवस्थापन तथा समसामयिक विषयमा प्रशिक्षण दाङको तुलसीपुरमा शुक्रबारदेखि सुरु भएको छ । दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि समेत रहेका झलक शर्मा गौतमले स्वास्थ्यकर्मीहरु आफ्नो पीडा लुकाएर विरामीहरुको सेवा गर्नुपर्ने बताएका छन् ।

आफुले बिरामीको उपचार गरेको भनेर द्वन्द्वको समयमा २४ घण्टासम्म बाख्राको खोरमा थुनेको सम्झदै उनले यस्ता खालका चूनौतीहरु स्वास्थ्यकर्मीहरुले सामना गर्दै अगाडी बढी रहेको बताए । विभिन्न खालको चूनौतिहरुको सामना गर्दै अहिलेको स्थितीसम्म आउँदा स्वास्थ्यकर्मी हुँदै धेरै राजनीतिकर्मीहरु पनि उत्पादन भएको उनको भनाइ थियो ।

नेकपा एमाले निकट महासंघको कार्यक्रमका प्रमुख वक्ता नेकपा एमालेका केन्द्रीय सदस्य कोमल वलीले जबसम्म आफ्नो क्षेत्रमा नेता बनिदैन तबसम्म उक्त संगठनले सफलता प्राप्त गर्न नसक्ने बताइन् । वलीले जनताहरुसँग प्रत्यक्ष रुपमा जोडिने भनेकै स्वास्थ्यकर्मीहरु भएकाले समाजको नेतृत्व स्वास्थ्यकर्मीले गरिरहेको बताइन् । स्वास्थ्य छैन भने कसैको जीवन पनि नरहने बताउँदै उनले स्वास्थ्यकर्मीहरुलाई आफु कमजोर हुने खालको काम नगर्न आग्रह गरिन् ।

स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष चिन्तामणी ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, नेकपा एमाले लुम्बिनी प्रदेशका उपसचिव द्रोर्ण बुढा लगायतले नेकपा एमालेले आफ्ना २३ वटा जनसंगठनको बलबुतामा मिसन ८४ सफल हुनेमा विश्वस्त रहेको बताएका थिए ।

स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष दोर्ण वलीको स्वागत मन्तव्यबाट सुरु प्रशिक्षण कार्यक्रमको सहजीकरण महासंघका प्रदेश सचिव कृष्ण गोपाल चौधरीले गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका स्वास्थयकर्मीहरुको सहभागिता छ ।

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस