महाशिवरात्री पर्व: श्री पाण्डवेश्वरधाम धारापानीको परिचय
बंशीकुमार शर्मा
वैदिक सनातनीहरूको विशेषपर्व महाशिवरात्री हिन्दूहरूको प्रमुख चाड हो । यो पर्व भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वकारूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले विहान सबेरै नुहाएर शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध,धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी “ऊँ नमः शिवाय” मंत्र जप्दै निम्न शिव गायत्री मन्त्र जप गरेर महामृतयुञ्जयको मन्त्र समेत जप गर्नु पर्दछ । ।। ॐ तत्पुरूशाय विद्महे।। महादेवाय धीमहि ।। तन्नो रूद्रः प्रचोदयात् ।। महामृत्युञ्जय मन्त्र ।।ॐ हौं जू सः। ॐ भूर्भुवः स्वः।। ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्। उर्वारूकमिव बन्धनान् मृत्योर्मुक्षीय माकमृतात्।। ।।ॐ स्वः भुवः भूः। ॐ सः जूं हौं ॐ।। ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रि पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भुक्ति र मुक्ति दुबै प्राप्त हुन्छ । शिवरात्री पूजा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ ।
पूजन वा शिवार्चनमा ईशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिऊले स्नान गराइन्छ र सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधीत्सवका रूपमा बौद्ध धर्मावलम्बीहरूले मनाउने गरेको पाइन्छ । त्यसदिन शिव शक्ती पीठहरूमा भक्तालुहरूको उल्लेखनिय भिड हुने गर्दछ । अराध्यदेव पशुपतिनाथको दर्शन गर्न नेपाल लगायत बिश्वका भक्तजन आउने गर्दछन् । शिवका भक्त साधुहरूले शरिरमा भष्म दलेर आफुलाई शिवको उपासक भएको दावी गर्दछन् भने दाङका शिव मन्दीरहरूमा भक्तजनहरूको उल्लेखनीय सहभागि हुने गर्दछ । दाङमा रहेका शिव मन्दिरहरू मध्ये साविक धर्ना गाबिस हाल घोराही उपमहानगरपालिका वडा न ५ मा रहेको पाण्डेवेश्वर धाममा आन्तरिक तथा वाह्य धार्मिक भक्तजनहरूको शिवरात्रीको पावना अवसरमा उल्लेखनीय उपस्थिती रहँदै आएको छ ।
भक्तजनको श्रद्धाका रुपमा रहेको पाडवेश्वर धाम धर्नाको चिनारी यस प्रकार रहेको छ । पाण्डवेश्वर शिवालय शिव मन्दिर दाङ उपत्यकाको दक्षिणी भाग बबैनदीको किनारामा चुरेपर्वतको काँखमा रहेको यो मन्दिर समुन्द्र सतहदेखि ६३३ मिटर उचाईमा अवस्थित छ । पवित्र सरयू गंगाको उद्गम स्थल (बबै) नदीको दक्षिण प्राकृतिक सुन्दरताले भरिपूर्ण साविक धर्ना गाविसको धारपानी भन्ने ठाउँमा श्री पाण्डेवेश्रर शिव मन्दिर छ ।
महाभारतको युद्ध पछि श्रीकृष्ण भगवानले भूमिको भार हरण गरी स्वर्गारोहण हुने बेला भयो भन्ने खवर पाए पछि पाण्डवहरुले कलिको प्रवेश भएको जानेर अर्जुनकी पत्नी सुभद्राका छोरा अभिमन्यूको कौरव सेनाको चक्रव्युहमा परी मृत्यु भएपछि उनकी पत्नी उत्तराको गर्भबाट श्री कृष्ण भगवानले द्रोणाचार्यका छोरा अस्वस्थामाले पाण्डवको वंशनै समाप्त पार्दछु भनी छाडेको व्रह्माश्रबाट गर्भको रक्षागरेकोले परिक्षितको जन्म भएको हो ।
पाण्डवेश्वर शिवालय मन्दिर पुग्न दाङ जिल्लाको सदरमुकाम घोराहीदेखि ९ किलोमिटर बाटो पार गर्नु पर्दछ । त्यो मन्दिरको भित्र अत्यन्त सुन्दर एउटा पार्थीव शिवलिङ्ग, विष्णु पादुका र बाघको दुई आँखा र पाइला जमिनमा बाघको छाला जस्तो आकृतिका मूर्ति र चिन्हहरु देखिन्छन् । उत्तरतर्फ गहिरो सानो जल कुण्ड छ । दक्षिणतर्फ एउटा अति विशाल प्राचीन साजको वृक्ष छ । यो शिवालिङ्ग जानकारीमा आएको करिव २ सय वर्ष भयो ता पनि महाभारत ग्रन्थमा उल्लेख भए अनुसार भारत वर्षका राजा शन्तनुका गंगाबाट भिष्मपिता मह सत्यवतीबाट चित्रांगद र विचित्र वीर्य तीन भाई छोरा जन्मे भिष्मपितामहले विवाह गरेनन् चित्रांगद र विचित्र वीर्यको अल्पायुमानै मृत्यु भयो । वंश शुन्य भएकोले कन्या अवस्थामा जन्मिएका पराशर श्रषिका छोरा वेदव्यासलाई आमा सत्यवतीले बोलाएर भाई बुहारीको क्षेत्रमा गर्भाधारन गर्न लगाइन् र धृतराष्ट पाण्डु जन्मे दासिका गर्भबाट विदुर जन्मे धृतराष्ट कि पत्नि गान्धारीबाट १०० भाई कौरव र पाण्डूलाई सन्तान पैदा गर्न नहुने श्राप परेकोले कुन्तीले धर्म, वायू, इन्दद्वारा युधिष्ठिर, भिम, अर्जुन ३ पुत्र र माद्रीले अश्रिनिकुमारबाट नकुल र सहदेव गरी ५ पुत्र भए यी ५ पुत्रलाई पाण्डव भनिन्छ ।
महाभारतको युद्ध पछि श्रीकृष्ण भगवानले भूमिको भार हरण गरी स्वर्गारोहण हुने बेला भयो भन्ने खवर पाए पछि पाण्डवहरुले कलिको प्रवेश भएको जानेर अर्जुनकी पत्नी सुभद्राका छोरा अभिमन्यूको कौरव सेनाको चक्रव्युहमा परी मृत्यु भएपछि उनकी पत्नी उत्तराको गर्भबाट श्री कृष्ण भगवानले द्रोणाचार्यका छोरा अस्वस्थामाले पाण्डवको वंशनै समाप्त पार्दछु भनी छाडेको व्रह्माश्रबाट गर्भको रक्षागरेकोले परिक्षितको जन्म भएको हो । ती परिक्षितलाई राज्याभिषेक गरी हस्तिनापुरको राज्य दिई सकेपछि वन्धुवधबाट दुःखीत भएका पाण्डवहरुलाई आफै श्री कृष्णले युद्धमा गिताको उपदेश दिएको स्मरण गराउनु भयो र पाण्डवहरु पनि स्वर्गारोहण हुने विचारगरी उत्तरापन्थको यात्रा गर्नु भयो । सोहि क्रममा यस पुण्य क्षेत्र धारपानीको जंगलमा आई पार्थीव शिवलिङ्ग र विष्णु पादुकाको उपासना गरी शिवको प्रत्यक्ष दर्शन पाई स्वर्गद्वारी हुँदै स्वर्ग जानु भएको भन्ने कथन छ ।
भगवान रामचन्द्रले सेतुवन्ध मद्रासमा स्थापना गरेको मन्दिरलाई रामेश्वर भनेझै पाण्डवले स्थापना गरेकोले यस मन्दिरलाई श्री पाण्डवेश्वर महादेव मन्दिर भनेर चिनिन्छ ।
यस मन्दिरको परिसर करिव १८ विगाह जमिनले ओगटेको छ । चारैतिर हरियाली छ । यस जंगलमा जंगली जनावर र पशुपंक्षी निर्भय रुपले विचरण गर्दछन् । जंगलमा विभिन्न जातका रुख र जडिबुटी पाइन्छन् । यो तपो भूमिमा विभिन्न तीर्थहरुबाट आएका सन्त महन्तहरुले उपासना गर्दछन् । यस मन्दिरको सिरानमा सुनकोट भन्ने लेख छ त्यहाँ प्राचीन मन्दिर, घरका भग्नावसेश सामग्रीहरु ईट्टाका टुक्रा , ढुगां माटाका भाडाकुढाका टुक्राहरु भेटिन्छन् । यो सुनकोट लेखबाट दाङ उपत्यकाको सम्पूर्ण प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ । रात्रीमा बालेको विजुली आकाशका तारा झै झलमल देखिन्छ र यो लेखको बीच भागमा कहिले न सुक्ने पानीको धारा छ जसलाई पनेसा भन्दछन् । यसको नजीकको सानो सोतामा हर हमेशा न सुक्ने पानीको श्रोत छ । जसद्वारा शिव मन्दिरको शिवालिङ्गमा जलधारा र अभिषेक गरिन्छ ।
यस पुन्य भूमीमा शिवमन्दिरका अतिरिक्त श्री गणेश, सूर्य, देवी, विष्णु र हनुमान्का मन्दिर छन् सवैमा नित्य पूजा आरती र यज्ञालामा सधै घ्यू चरुले हवन गर्ने कार्य पुजारीले गर्ने गर्दछन् र हरेक सोमबार, एकादशी, संक्रान्तिमा, भक्तजन आई शिव लिङ्गको दर्शन पूजन भजन किर्तन आदि गरी नाचगान समेत गर्दछन् । यहाँ व्रतवन्ध विवाह अन्य यज्ञादी भइ रहन्छन् ।
भवनहरुमा सन्त निवास, अतिथि गृह पाकशाला, पानी टंकी र पोखरी आदि छन् । मन्दिरका चारैतिर जात जातका रंगी विरंगी फूल, तुलसी आदिका बोटहरु आँप, सुन्तला, केरा रुद्राक्षका वृक्षहरुले अत्यन्त शोभायमान देखिन्छ । ठूलो त्रिशुल, जस्को उचाई साढे ४१ फिट अग्लो र ६ हजार किलो ग्रामको छ । धारापानी मन्दिर परिसरमा १ सय ८ जोडि बर पिपल र १ सय ८ वटा समीका बिरुवा पनि त्रिशुल आकारमै रोपीएका छन् । त्यतीकै मात्रामा रुद्राक्ष, वरपिपल, समिका रुखहरु लगायत यस पवित्र तपोभूमिमा स्वयं भगवान शिव विराजमान भएको अनुभूति हुन्छ । भगवान शिवका प्रिय नाग देवता निर्धक भएर मन्दिर परिक्रमा गरेको देख्दा यस तपोभूमिमा भगवान नै आएर तपश्या गर्नु भएको छकी या हाम्रा अज्ञानी आँखाले नदेखेका हुन सक्छौ । अहिलेको भौतिक र यान्त्रिक युगमा सानो साजको रुख काट्न नसक्नु नै भगवानको अलौकिक शक्ति हो ।
यो पुण्य क्षेत्र हो । जुन ठाउँमा जानाले मनमा शान्ति मिल्छ, ईश्वरले लिला गर्नु भएको छ जुन ठाउँमा जप, ध्यान, उपासना, किर्तन भजन हुन्छ त्यसलाई तीर्थ भन्दछन् । हिन्दु शास्त्र अनुसार धर्म, अर्थ, काम र मोक्ष चार पुरुषार्थ प्राप्त गनृ तीर्थ, ब्रत दान धर्म गर्नु पर्छ र सवैले प्राप्त गर्नकोलागी उपसना गर्ने गर्दछन् । तर सवैले प्राप्त गर्न सक्दैन महापुरुषहरुले मात्र प्राप्त गर्न सक्छन् । पुण्य भूमिमा जाने हो भने केहि अंश भए पनि शान्ति प्राप्त हुन्छ । त्यस पवित्र क्षेत्रलाई नै तीर्थ भनिन्छ ।तीर्थको अर्थ हो तीन अर्थ । यहि तीन अर्थ, अर्थात् धर्म, अर्थ र मोक्ष प्राप्तिको लागि हरेक मानिसले धर्म गर्दछ । यो मन्दिर पनि पवित्र तीर्थ हो । यहाँ आश्चर्यजनक वस्तुहरुमा एक साजको वृक्ष छ । जो आज भन्दा २ सय वर्ष अगाडीको कुरा हो । वुढापाखाहरुले भनेअनुसार त्याँहा रहेको साजको रुख काट्न थारु समुदायको महान पर्व माघी सक्रान्ति पर्व मनाउनको लागि थारु समुदायका अगुवाहरु थारुहरु आए दिनभर काट्दा पनि यो रुख ढलेन अर्को दिन पनि आउँदा अघिल्लो दिन काटेको पनि पुरीएको देखियो । यी थारु गुरुवा गाउँका थिए । उनको नाम माघुराम चौधरी हो । उनी त्यहाँबाट बसाइसरी जलौरा गाउँमा गएका थिए । हाल उनका सन्तानहरु अझै पनि छन् । त्यो रुख मुनी के रहेछ भनि पात पतेङ्गर पन्छाउदा शिवलिङ्ग फेला प¥यो । त्यसैबेला देखि पूजा आजाको आरम्भ भयो । जो रुख आजसम्म छदैछ । अर्को शिवलिङ्गको उत्तरतर्फ कहिलै नसुक्ने सानो गहिरो पानीको कुण्ड छ । त्यहाँबाट सर्प र भ्यागुता निस्केर त्यहाँ चढाएका अक्षिता खाई पूनः प्वालमा फर्कन्थे भन्ने यस्तो प्रत्यक्ष आश्चर्यजनक घटना त्यहाँ उपासना गरेर वस्नु भएका सन्तले भन्नुहुन्छ । यस्ता आश्र्चयजनक घटना देखिने हुँदा त्यहाँ रहेको शिवलिङ्गको दर्शन गर्नाले शिद्धी प्राप्त हुन्छ ।
यस मन्दिरमा महाशिवरात्री, वालाचतुर्दशी, मकरसंक्रान्ति पर्वमा र वोलवम कार्यक्रममा ठूलो धार्मिक मेला लाग्दछ । टाढा टाढाका सन्त महन्त र भक्तजनहरु श्रद्धा भक्तिका साथ दर्शन गर्न आउँदछन् ।