दाङ, ६ माघ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले काम नगर्ने ठेकेदारलाई कालो सूचिमा राख्ने बताउनुभएको छ । दाङको बिकट क्षेत्र बबई गाउँपालिका वडा नं. ५ स्थित जौबारीमा रहेको जनश्रम सरस्वति आधारभूत विद्यालयको १८ औं बार्षिकोत्सवलाई शुक्रबार सम्बोधन गर्दै उहाँले ठेकेदारहरुले पनि विकासमा विलम्ब गर्ने गरेको भन्दै त्यस्ता ठेकेदार कम्पनीलाई कालो सूचिमा राख्ने बताउनुभयो । ‘काम नगर्ने ठेकेदारलाई कालो सूचिमा राख्छौं’, उहाँले भन्नुभयो ‘बजेट परेर पनि काम नगर्ने ठेकेदारले गर्दा पनि विकासमा असर गर्ने गरेको छ ।’
विकट गंगटे पुग्नका लागि अहिले पाँच किलोमिटर क्षेत्र कालोपत्रे र बाँकी ग्राभेलको काम भइरहेको समेत बताउनुभयो । साथै गंगटेमा प्रहरी चौकी स्थापनाका लागि बजेट बिनियोजन भइसकेकाले त्यहाँ प्रहरी पोष्ट स्थापना गर्ने तयारी रहेको समेत बताउनुभयो ।
जुन ठाउँ विकट छ, त्यहाँको विकास भए मात्रै समग्र दाङको विकास भएको मान्न सकिने भन्दै पश्चिम दाङको विकासका लागि आफू लागेको उहाँको भनाइ छ ।


