बबई अन्तर विद्यालय रनिङ शिल्ड सुरु

बबई । बबई गाउँपालिका अन्तर विद्यालय स्तरीय १६ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० आज शुक्रबारदेखि सुरु भएको छ । सरस्वती माध्यमिक विद्यालय चरकमटियाको आयोजना तथा बबई गाउँपालिकाको आर्थिक ब्यवस्थापनमा संचालित प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य माननीय दिपक गिरीले गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले राष्ट्र आर्थिक संकटमा गुज्रदा सिङ्गो खेल क्षेत्रले अपेक्षाकृत रुपमा फड्को मार्न नसकेको बताउनु भएको छ । खेलकुद राष्ट्रको शान र गौरव मात्र नभएर पहिचान पनि हो यसको विकासलाई राष्ट्रको समृद्धिसँग जोडेर लैजानुपर्छ भनिरहँदा सिङ्गो राष्ट्र चरम आर्थिक संकटमा गुज्रिनुले खेल क्षेत्रले अपेक्षाकृत फड्को मार्न नसकेको बताउनु भयो ।

भौगोलिक भू–वनोट र हावापानीका दृष्टिकोणले उत्तम बबई गाउँपालिका खेलकुदको गन्तव्य बन्न सक्थ्यो तर संघीय, प्रदेश र स्थानीय गरि तीन तहकै सरकार यतिबेला राष्ट्रको आर्थिक संकटको मार खेपिरहेकाले त्यो सम्भव नभएको उहाँको भनाइ थियो । उहाँले सीमित श्रोत र साधनकाबीच खेलकुदको विकास र बिस्तारलाई अगाडि बढाउन आफू लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । साथै मानव जीवनमा शिक्षाको जत्तिको महत्त्व छ खेलकुदको पनि त्यत्तिकै महत्त्व रहेकाले शिक्षा र खेलकुदलाई सँगसँगै लैजान स्थानीय पालिकालाई आग्रह समेत गर्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि गाँउपालिका अध्यक्ष कुल बहादुर खत्रीले बालवालिकाको सर्वाङ्गीन विकासको आधारशिला खेलकुद क्षेत्रको विकासमा आँफु लागि पर्ने बताउनु भयो । हामी गाँउपालिकाको नीति तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिनेछौ, बबई गाँउपालिकालाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय हाम्रो उच्च प्राथमिकतामा रहन्छ अध्यक्ष खत्रीले भन्नुभयो ।

विद्यालयका प्रधानाध्यापक सिट्टिसाप बिष्टको स्वागत रहेको कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्का लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगितामा सहभागी पालिका भित्रका विद्यालयको मार्चपास तथा विभिन्न कला संस्कृती, भेषभुषा झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको संचालन विद्यालयका शिक्षक बिरेन्द्र भण्डारीले गर्नु भएको थियो । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पालिका स्तरका सामुदायिक तथा निजी विद्यालय गरि १२ विद्यालयको सहभागिता रहेको छ ।

सरस्वती माविका बरुणलाई दुई स्वर्ण

यसैबीच प्रतियोगिता अन्तर्गत आज सम्पन्न एथलेटिक्स ट्रयाकतर्फ आयोजक सरस्वती मावि चरकमटियाका बरुण गन्धर्वले दुई स्वर्ण पदक हात पारेका छन् ।

कक्षा १२ मा अध्ययनरत बरुणले छोटोको १०० मिटर र लामो दुरिको १५०० मिटर दौडमा स्वर्ण पदक हात पारेको विद्यालय शिक्षक तथा एथलेटिक्स संयोजक मान बहादुर बस्नेतले जानकारी दिनु भएको छ ।

प्रतियोगिता अन्तर्गत भोलि शनिबार एथलेटिक्स, कबड्डी, कराते र भलिबल छात्र छात्रातर्फ खेलहरु बिहान ८ बजेदेखि सुरु हुनेछ्न् ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस