सल्यानबाट ७० करोड बढीको खसीबोका  बाहिरीए


सल्यान  ।
सल्यानबाट गत आर्थिक वर्षमा ७० करोड रुपैयाँभन्दा बढीको खसीबोका जिल्ला बाहिर निकासी भएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा सल्यान जिल्लाबाट ७० करोड भन्दा बढीको खसीबोका जिल्ला बाहिर निकासी भएको पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार ५७ करोडको खसी बोका निकासी भएको तथ्यांक  भए पनि दुई स्थानीय तहको तथ्यांक प्राप्त नभएकोले ७० करोडको खसीबोका निकासी भएको अनुमान गरिएको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाबाट ५३ करोड भन्दा बढीको खसीबोका जिल्ला बाहिर निकासी भएकोमा यस वर्ष करिब १७ करोड रुपैयाँ बढी निकासी भएको पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले बताउनुभयो ।

सल्यान बाख्रापालनका लागि उपयुक्त ठाउँ मानिन्छ । किसानहरुले घर-घरमा बाख्रा पालन गर्ने गरेका छन् । सल्यानमा चार लाख भन्दा बढी संख्यामा बाख्रापालन हुँदै आइरहेको उहाँले बताउनुभएयो ।

जिल्लामा व्यावसायिक बाख्रा पालन फस्टाउदै गएका कारण पनि खसीबोका निकासी हुने क्रम बढेको हाे ।


प्रत्येक घरमा ३ देखि ५ वटासम्म बाख्रापालन गर्दै आइरहेको प्रमुख महतले बताउनुभयो । व्यावसायिक बाख्रापालनका लागि कृषकलाई आर्कषित गर्न गतवर्षसम्म पशु सेवा कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो ।

बाख्रापालन प्रवर्धनका लागि बाख्रा वितरण, उन्नत जातका बोका खरिद, खोर निर्माण लगायतका कार्यक्रम सञ्चालन गरिएका पशु अस्पताल तथा पशुसेवा कार्यालयका सूचना अधिकारी वीरेन्द्र केसीले जानकारी दिनुभयो ।


उहाँका अनुसार साना किसान र व्यवसायिक किसानलाई वर्गीकृत गरी खोर सुधार अनुदान, बजारीकरणका लागि संकलन सहजीकरण, संक्रामक रोगविरुद्ध नि:शुल्क खोप सेवा लगाएत प्राविधिक सहयोग गर्ने गरेकोे बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस