एक सहकारीद्वारा  डेढ करोड हिनामिना, सदस्यको बिचल्ली

तुलसीपुर । दाङको एक सहकारीले डेढ करोड रुपैयाँ हिनामिना गरेपछि सेवाग्राही समस्यामा परेका छन् । मूख्य कार्यालय घोराहीमा रहेको जनसेवा बहुद्देश्यीय सहकारी संस्थाले झण्डै डेढ करोड रकम हिनामिना गरेपछि शेयर सदस्यको बिचल्ली भएको छ ।

सहकारीले  सेवा केन्द्रको रुपमा तुलसीपुर र लमहीमा क्षेत्रमा पनि काम गर्दै आएको थियो । करिब २३ बर्षअघि देखि दाङका विभिन्न स्थानमा काम गर्दै आएको सहकारीमा झण्डै दश महिनायता कारोबार बन्द रहेको छ ।

तुलसीपुरका व्यापारी ध्रुवराज पाण्डेले सहकारीमा आफुले बचत गरेको २ लाख बढि रकम फसेको बताउनुभयो । झण्डै पाँच बर्षदेखि दैनिक ५०/६० रुपैयाँ जम्मा गरेर धेरै रकम जम्मा भएको बेला सहकारी बेखबर हुँदा आफु जस्ता थुप्रै सेवाग्राही समस्यामा परेको उहाँको भनाइ छ ।

धेरै व्यापारीको पैसा सहकारीमा फसेपछि बाणिज्य संघले मुद्दा दर्ता गर्नको लागि जिल्ला प्रहरी कार्यालय घोराही पुगेको थियो । तर मुद्दा दर्ता नभएपछि अहिले जिल्ला सहकारी संघ दाङ मार्फत समस्या समाधानका लागि प्रक्रिया अघि बढेको उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनुभयो ।

यसैगरी तुलसीपुरका देबेन्द्र कालाथोकीको पनि साेहि सहकारीमा १० हजार ५ सय रुपैयाँ फसेको छ । उहाँजस्तै तुलसीपुर क्षेत्रका मात्रै झण्डै दुई सय जना व्यापारीको रकम यो सहकारीमा फसेपछि तुलसीपुर उद्योग बाणिज्य संघले चासो देखाएको छ ।

धेरै व्यापारीको पैसा सहकारीमा फसेपछि बाणिज्य संघले मुद्दा दर्ता गर्नको लागि जिल्ला प्रहरी कार्यालय घोराही पुगेको थियो । तर मुद्दा दर्ता नभएपछि अहिले जिल्ला सहकारी संघ दाङ मार्फत समस्या समाधानका लागि प्रक्रिया अघि बढेको उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनुभयो ।

उहाँले ऋण लगेका व्यापारीलाई सहकारीमा पैसा बुझाउन आग्रह गर्नु भएको छ । ऋण लगेकाले तिर्न नखोज्ने र बचत गरेका सदस्यले आफ्नो पैसा खोज्न थालेपछि अहिले सहकारीमा पैसा नभएकाले संस्था बन्द भएको हुन सक्ने बताउनुभयो ।

सहकारी संस्थाका सञ्चालकले मनोमानी रुपमा बिना प्रमाण आफ्ना आफन्तीलाई ऋण लगानी गर्दा यति ठुलो मात्रामा रकम हिनामिना भएको जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमले बताउनुभयो ।

सहकारीको गतिविधि हेर्दा नियममा नचलेको, मनोमानी रुपमा ऋण लगानी गरेको, आफ्ना आफन्तीलाई बिना प्रमाण पैसा दिएर रकम हिनामिना गरेको अध्यक्ष गौतमले बताउनुभयो ।

अहिले सहकारीको समस्या समाधान गर्नका लागि उपाध्यक्ष माधव खनालको संयोजकत्वमा मेलमिलाप समिति गठन गरिएको छ । गठन भएको समितिसंग घोराही, तुलसीपुर र लमहीको टिम बसेर दुई पटक बर्ता गरिसकेको उहाँले बताउनुभयो ।

अध्यक्ष गौतमले लगानी गरेको सबै पैसा उठाउन र पैसा फसेका सदस्यलाई जतिसक्दो छिटो फिर्ता गर्न ताकेता गरेको बताउनुभयो । सञ्चालक समितिको कमजोरी रहेको भन्दै उहाँले जिल्ला सहकारीले छलफल गरिरहेको र सकेसम्म छिटो नै समस्या समाधान गर्ने तर्फ लागेको बताउनुभयो ।

संहकारी संघसंग कारबाही गर्ने अधिकार नभएको भन्दै समन्वयको काम गरेको उहाँको भनाइ छ । गल्ती गरेकाले सजाय पाउनुपर्ने र बचकर्ताको पैसा फिर्ताको लागि पहल गरिरहेकोे बताउनुभयो ।

त्यसक्रममा तुलसीपुरका शाखा प्रमुख अर्जुन भट्टराई, घोराहीका प्रमुख प्रकाश श्रेष्ठ र लमहीका प्रमुखले पैसा तिर्ने सहमती गरेको अध्यक्ष गौतमको भनाइ छ । यस्ता सहकारीले गर्दा राम्रा सहकारीमा पनि चुनौति थपिएको उहाँले बताउनुभयो ।

अब शेयर सदस्य सचेत बन्नुपर्ने समय आएको उहाँको भनाई छ । जुन कुनै संस्थामा आबद्ध हुँदा त्यहाँको नियम, कानुन बुझेर, संस्था कस्ले र कस्ता ब्यक्तिले चलाएका छन? त्यसका सञ्चालक कस्ता छन् र करोबार कस्तो छ भनेर बुझेर मात्र सदस्य बन्न अध्यक्ष गौतमले आग्रह गर्नुभयाे  ।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस