डेढ महिनादेखि विद्यालयमा शिक्षककाे अभाव


सल्यान  ।
सल्यानको बागचौर नगरपालिकाका विभिन्न विद्यालयमा डेढ महिनादेखि शिक्षक अभाव भएको छ । अनुदानका ६८ जना शिक्षकलाई एकैपटक हटाइएपछि पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरुले आन्दोलन शुरु गरेका छन् ।

विगत केही दिनयता विद्यार्थीले एकपछि अर्को विद्यालयमा तालाबन्दी गर्दै आएका छन् । विद्यार्थीहरुले हिजाे सोमबार मात्रै अमरज्योति माध्यमिक विद्यालय चौरपानी र शिशुकल्याण माध्यमिक विद्यालय हरिचारमा तालाबन्दी गरेका हुन्। आइतबार सरस्वती माध्यमिक विद्यालय जामुनेचौरमा विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

बालकन्या माध्यमिक विद्यालय टाट्केमा शिक्षक नहुँदा पठनपाठन अवरुद्ध भएको भन्दै विद्यार्थीले भदौ ४ गते विद्यालयमा तालाबन्दी गरेका छन् । त्यस्तै सहिद भरत स्मृति माध्यमिक विद्यालय शिर्पामा शिक्षकको अभावमा विद्यालय बन्द गरिएको छ ।

अघिल्ला जनप्रतिनिधिको पालामा बागचौर नगरपालिकाले राखेका नगर अनुदानका शिक्षकलाई हटाएपछि नयाँ राख्न ढिलाइ भएको र जसका कारण पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीले विद्यालयमा तालाबन्दि गरेका हुन् ।

सरस्वती माध्यमिक विद्यालय जामुनेचौरमा कक्षा १० का छात्र दुर्गाराम वलीले विगत डेढ महिनादेखि पठनपाठन अवरुद्ध हुँदा बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नुपरेको बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस