संस्कृत विश्वविद्यालयका अनुसन्धान कृति वेभमा राख्ने तयारी

तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित अनुसन्धान वेभसाइडमा राख्ने तयारी गरिएको छ । विश्वविद्यालयबाट शास्त्री, आचार्य र विद्यावारिधिका अनुसन्धानमुलक कृतिहरू वेभसाइडमा राख्ने तयारी गरिएको हो । विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा भीम खतिवडाका अनुसार अध्ययन अनुसन्धानलाई प्रविधिमैत्री बनाउनका लागि त्यस्ता कृतिहरूलाई वेभसाइडमा राख्ने तयारी गरिएको हो ।उहाँले विद्यावारिधिका सन्र्दभमा संस्कृत विश्वविद्यालयबाट उत्पादित जनशक्ति निकै अब्बल रहेको दाबी गर्नुभयो ।

उहाँले संस्कृत शिक्षालाई समाजसँग जोड्नका लागि स्थापत्य शास्त्र,विधिशास्त्र,वास्तुशास्त्र अध्ययनका लागि पाठ्यक्रम तयार पारिएको बताउनुभयो । कुलसचिव प्राध्यापक माधव अधिकारीले विश्वविद्यालयले प्रत्येक क्याम्पसमा महिनामा एक पटक अनुसन्धानमुलक गोष्ठी आयोजना गर्नुपर्ने बाध्यकारी नियम बनाउन थालिएको बताउनुभयो ।कुलसचिव अधिकारीले भन्नुभयो ‘प्राध्यापक पछिल्लो समयमा खोज,अनुसन्धानको क्षेत्रमा खासै रुची भएको देखिदैन त्यसैले त्यस क्षेत्रमा क्रियाशील राख्नका लागि अनिवार्यरुपमा अघि सारेका हौँ ’। उहाँले नीतिगतरुपमै व्यवस्थापन गरेर खोज,अनुसन्धानको क्षेत्रलाई फराकिलो बनाउन थालेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले संस्कृत वाङ्मयको विकास,विस्तारका लागि यसको क्षेत्रलाई अझ फराकिलो बनाउँदै लैजान सके समाजसँग सजिलै जोडिन सकिने बताउनुभयो ।उहाँले संस्कृत विश्वविद्यालयलाई संसारकै पुस्तकालयकारूपमा विकास गर्नका लागि आग्रह गर्नुभयो ।

सांस्कृतिक केन्द्रका कार्यकारी निर्देशक जर्मन चौधरीले अनुसन्धान,खोजको क्षेत्र निकै चुनौतिपूर्ण रहेतापनि प्राध्यापनका क्षेत्रका अनिवार्य रहेको बताउनुभयो । पूर्व शिक्षाध्यक्ष प्राडा भागवत शर्माले अनुसन्धानको शीर्षकबाट नै धेरैकुराको अर्थ राखिने भएकाले शीर्षकचयनमा विशेष ख्याल राख्नुपर्ने बताउनुभयो ।

यसैबीच नेपाल संस्कृत विश्वविद्यालय सम्बद्घ अनुसन्धान व्यवस्थापन इकाइको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा नेपाल संस्कृत विश्वविद्यालयसहित त्रिभुवन विश्वविद्यालयका क्याम्पसका शिक्षकहरूका लागि अनुसन्धान व्यवस्थापन क्षमता अभिवृद्घि प्रशिक्षण कार्यक्रम सुरु भएको छ । अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्राडा सुदनकुमार पौडेलको अध्यक्षता एवम विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा भीम खतिवडाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन खगेन्द्र घोडासैनीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस