देशलाई अघि बढाउन शिक्षण संस्थाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड

बेलझुण्डी/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउनका साथै आत्मनिर्भर तुल्याउन शिक्षण संस्थाहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए ।

बुधबार नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङको पाचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेको उहाँले विश्वविद्यालयका कर्मचारी तथा विद्यार्थीहरूलाई राजनीतिक आस्था एवं दलगत भन्दा माथि उठेर शैक्षिक तथा प्राज्ञिक स्तर अभिवृद्धि गर्न समर्पित हुन जरुरी रहेको समेत बताए । उनले आफू नेतृत्वको सरकारले यस विश्वविद्यालयका कार्य योजनाहरूलाई सघाउन तयार रहेको समेत उल्लेख गरे ।
सरकारले नेपालभित्र गुणस्तरीय शिक्षाको विकास एवं प्रर्वद्धनका लागि विश्वविद्यालयहरू बिच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई दिन चाहेको समेत उनले बताए ।

यस्तै, नेपालमा उच्च शिक्षाको विकास, विस्तार र स्तरीकरणमा नेपाल संस्कृत विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको समेत उनले वताए। पौरस्त्य मूल्य मान्यता , संस्कार, संस्कृति आदर्शको एवं विकासमा संस्कृति विश्वविद्यालयले दिएको योगदान अत्यन्त प्रशंसनीय रहेको पनि उहाँले उल्लेख गरे ।

यस्तै संस्कृति विश्वविद्यालय पूर्वीय बाङ्मयको संरक्षण तथा सम्वर्द्धन गर्नुका साथै नेपाली पनको जर्गेना गर्नु यसको मुख्य दायित्व र कर्तव्य भएको समेत उनको भनाइ थियो । यस्तै, आज आयोजित दीक्षान्त समारोह अत्यन्त महत्वपूर्ण र विशिष्ट प्रकृतिको र ऐतिहासिक रहेको पनि उनको भनाइ छ । उनले विभिन्न कारणले गर्दा विश्वविद्यालयको दीक्षान्त कार्यक्रम १२ वर्ष पछि भएको भन्दै विद्यार्थीहरूको भविष्यसँग गाँसिएको यस्ता कार्यक्रमहरू निरन्तर गर्न विश्वविद्यालय प्रयत्नशील रहने पनि वताए । उनले यस विश्वविद्यालयबाट पनि सम्मुनत समाज निर्माण गर्न सक्ने सुसंस्कृत, सक्षम, अनुशासित दक्ष नागरिकहरूको उत्पादन गर्ने राज्यले अपेक्षा लिएको समेत वताए ।

विभिन्न प्राविधिक कारणले गर्दा २०६७ सालदेखि दीक्षान्त भएको थिएन । विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एकवर्षे शिक्षा शास्त्री र बिएमएस उत्तीर्ण गरेका ४ हजार ७७३ मध्ये निवेदन दिएका ५७५ जना विद्यार्थी दीक्षित भएका हुन् ।

विद्यावारिधि हासिल गरेका १२० जना, आचार्य तह उत्तीर्ण १४५ जना, शास्त्री तह उत्तीर्ण १६३ जना, आयुर्वेद स्नातक उत्तीर्ण ५७ जना र एकवर्षे शिक्षा शास्त्री उत्तीर्ण गरेका ९० जना दीक्षित भएका हुन । बिस २०५४ सालदेखि दीक्षान्त समारोह आयोजना गर्दै आएको विश्वविद्यालयले २०६७ सालमा चौथो दीक्षान्त समारोह गरेको थियो। विश्वविद्यालयमा विभिन्न समयमा हुने आन्दोलन, हडताल, तालाबन्दीका कारण समयमा दीक्षान्त समारोह हुन सकेको थिएन ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस