
बेलझुण्डी । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान माताहतको केन्द्रिय आयुर्वेद विद्यपिठ(विएएमएस) कलेजमा स्वतन्त्र विद्यार्थि संगठनले तालावन्दी गरेको छ । विएएमएस कलेजमा अध्ययनरत विद्यार्थिहरुको शैक्षिक भविस्यमाथि निरन्तर खेलवाड हुंदै आएको भन्दै विद्यार्थिहरुले तालावन्दी गरेका हुन् ।
विगत तीन महिनादेखि रिक्त रहेको आयुर्वेद अध्ययन संस्थानमा डिन नियुक्त गरेको दुइ साता नवित्दै फेरी तालावन्दी भएको छ। यस अघिका कामचलाउ डिन डा मंगलाकान्त झालाइ पदमुक्त गरी विश्वविद्यालय कार्यकारी परीषदले सेवा निबृत्त भएका डा चन्द्र प्रसाद भुषाललाइ प्राध्यापक समेतको पगरी दिएर डिन नियुक्त गरेको थियो । डा भुषाल आयुर्वेद चिकित्सक हुन् । नवनियुक्त डिनलाइ क्याम्पसमा स्वागत गर्नुको साटो विद्यार्थि संगठनले क्याम्पसमै तालावन्दी गरेका हुन् ।
स्वतन्त्र विद्यार्थि युनियन केन्द्रिय आयुर्वेद विद्यपिठले तालावन्दीसंगै जारी गरेको विज्ञप्तीमा फेरी तत्काल ओपिडि सन्चालन, विद्यार्थिको वौद्धिक क्षमता बृद्धिकालागी ई लाइव्रेरीको व्यवस्था , पुस्तकालयमा प्रयाप्त पुस्तक र पुस्तक खरीदकालागी आएको बजेटको सिघ्र प्रयोग, विद्यार्थिलाइ सुद्ध पिउने पानीको व्यवस्था, शैक्षिक क्यालेन्डरलाइ कार्यान्वयन लगायतका माग उल्लेख गरिएको छ ।
विश्वविद्यालय केन्द्रिय विद्यपिठमा कर्मचारी, प्राध्यापकहरुको फेस रिडर हाजिरिमा पनि भेदभाव गरिएको विद्यार्थि नेताहरुले जनाएका छन् । नयां प्राध्यापकहरुलाइ अनिवार्य फेस रिडर हाजिरी गराइन्छ भने पुराना रैथाने प्राध्यापकलाइ फेस रिडर हाजिरि पनि अनिवार्य छैन । यो वेथितिको अर्को श्रृंखला भएको पनि विद्यार्थिहरुको भनाइ छ । त्यसो त विएएमएस कलेजमा कुनैवेला ओपिडि सेवा पनि सन्चालन भएको थियो । विभिन्न विधाका विशेषज्ञ प्राध्यापकहरुका नेमप्लेट सहितका ओपिडि कक्ष व्यवस्थापन भएको थियो । क्याम्पस भवनको तल्लो तलामा करीव ७५ वटा वेड समेत व्यवस्थापन गरिएका थिए । तर ती वेड लगायतका उपकरण सामाग्रिहरु पनि अहिले क्याम्पसमा छैनन् ।
नेपाल संस्कृत आयुर्वेद अध्ययन संस्थानले भने विद्यार्थिका समस्याका सन्दर्भमा वार्ताको चरणमा रहेको बताएको छ। नवनियुक्त डिन प्राडा चन्द्र प्रसाद भुषालले स्वतन्त्र विद्यार्थि यनियनले राखेका माग सम्वोधनका सन्दर्भमा वार्ता भैरहेको बताएका छन् । ‘हामी अहिले विद्यार्थि नेताहरुसंग वार्ताको चरणमा छौं, चाडै समस्याको समाधान हुने छ’, डिनले भने । तर ओपिडि कक्षा कहिले सन्चालन हुने भन्ने उनले बताएनन् ।
नेपाल संकृत विश्वविद्यालयले आयुर्वेद चिकित्सामा स्नातक तह (विएएमएस) कक्षा सन्चालन गरेको करीव एक दशक हुन थाल्यो। अहिले दशौं व्याच भर्ना भएका छन् । तर यी आयुर्वेद चिकित्सकहरुले अन्तरंग र ओपिडि प्राक्टिस अझै सम्म गर्न पाएका छैनन्। कुनैवेला केन्द्रिय आयुर्वेद विद्यापिठ शिक्षण अस्पताल लेखिएको साइनवोर्ड पनि केन्द्रिय आयुर्वेद विद्यपिठमा राखिएको थियो । तर शिक्षण अस्पताल विनाको सो साइनवोर्डको विरोध भएपछि शिक्षण अस्पतालको साइन बोर्ड एकाएक विश्व विद्यालयले हटाएको थियो । विद्यार्थिहरुले वारम्वार गुनासो गरेपछि हाल केन्द्रिय आयुर्वेद विद्यपिठको प्रशासनिक भवनमै एक सय वेडको अस्पताल सन्चालन गर्ने प्राक्टिस पनि सुरु भयो । केहि विभागिय ओपिडि पनि सन्चालनमा आउन थालेका थिए । तर औषधालय विनाको अस्पतालमा विरामी आएनन् ।
ओपिडि सेवा चल्न सकेन। त्यहि बीचमा विश्वव्याधि महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलियो । तात्कालिन प्रदेश सरकारले विएएमएस कलेजलाइ कोरोना अस्पताल बनाइ दियो । मेडिकल कलेज अन्तै बनाइदिने आश्वासन प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोख्रेलले दिए । तर कोरोना अस्पताल खालि भैरहंदा त्यहां तयार गरिएका करीव एक सय वेड पनि कता गायव भए भन्नेमा विद्यार्थिहरुनै अन्योलमा छन् । त्यो वेला व्यवस्थापन गरिएका वेडहरु कहाँ लगिए भन्नेमा पनि विद्यार्थिहरु आशंकामा छन् । पछिल्लो चरणमा अस्वाभाविक रुपमा खर्च वढेको भन्ने आम गुनासो सुनिन्छ ।
आफ्नै मेडिकल कलेज नहुंदा विएएमएसका विद्यार्थिहरुले कहिले प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी त कहिले काठमाण्डौ सम्म पुगेर ओजेटि गर्न बाध्य छन् । मेडिकल कलेज विनैको आयुर्वेद चिकित्सा अध्ययन क्याम्पसले विद्यार्थिहरुको भविस्य माथि नै खेलवाड भैरहेको छ । ‘शिक्षण अस्पताल नहुदा हामीले एकजना विरामीलाइ सलायन चढाउन सक्ने सम्मको क्षमता विकाश हुन सकेको छैन’, एकजना विद्यार्थिले भने ।
विश्व विद्यालय प्रशासन मेडिकल कलेज निर्माणमा अझै सम्मपनि प्रतिवद्ध बन्न सकेको छैन । विएएमएस कक्षा सन्चालनकालागि कम्तिमा एक सय वेडको अस्पताल चाहिन्छ, तर स्वास्थ्य मन्त्रालय माताहतको आयुर्वेद चिकित्सा आयोग अनुगमनमा आउदा मेडिकल कलेजको स्वीकृति दिने कुनै पनि अवसर जुर्न सकेको छैन ।
‘सय वेड सहितको पुर्वाधार विना मेडिकल कलेज सन्चालन हुन सक्दैन, तर यसमा न यहां भौतिक पुर्वाधार निर्माण हुन सकेको छ, नत मेडिकल कलेज सन्चालनकालागि आवश्यक दरवन्दी नै उपलव्ध छ’,केन्द्रिय आयुर्वेद क्याम्पसका प्राचार्य डा मंगलाकान्त झाले भने । नयां डिन नियुक्त भएसंगै आफु अपमानीत भएको भन्दै डा झाले प्राचार्य पदबाट समेत राजिनामा दिएका छन् ।
पछिल्लो चरणमा आयुर्वेद क्याम्पसका लागि मेडिकल कलेज निर्माणकालागि इ विडिङ भएको छ । तर कहिले सम्म मेडिकल कलेज बन्ने भन्ने अझै अन्योलको विषय बनेको छ । मेडिकल कलेज विनैको आयुर्वेद चिकित्सा अध्ययन क्याम्पसले विद्यार्थिहरुको भविस्य माथि नै खेलवाड भैरहेको छ । मेडिकल कलेजमात्र होइन, त्यहां विद्यार्थिहरुकालागि उपयुक्त प्रयोगशाला समेत छैन ।
– साक्षी खबर