
बिजौरी । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको ७५औं सिनेटसभा काठमाडौंको वालुवाटारस्थित प्रधानमन्त्री निवास कार्यालयमा यसै साता सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यतामा सम्पन्न सिनेट सभामा भएका निर्णयहरु प्रमाणीकरण अझै भैसकेको छैन । यद्धपि त्यहाँ विश्वविद्यालयको समग्र शैक्षिक तथा व्यवस्थापकीय अवस्थाका विषयमा उपकुलपति प्राध्यापक यादव लामिछानेले प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन तथा वार्षिक बजेटका विषयमा कुलसचिव माधव अधिकारीले प्रस्तुत गरेका थिए ।
सिनेटसभामा जग्गा दाताका तर्फबाट राष्ट्रियसभाका प्रमुख सचेतक अनिता देवकोटाले जग्गा दाताहरुले दिएको जग्गा संरक्षण हुन नसकेको भन्दै त्यसमा प्रधानमन्त्री स्वयम् गम्भीर हुनुपर्ने बताएकी थिइन् । उनले विश्वविद्यालयको कम्तिमा बाह्र सय विगाहा भन्दा बढी जग्गा तात्कालीन सरकार माओवादी द्वन्द्वकालमा भएको स्मरण गराउँदै मुलुक अहिले शान्ति प्रक्रियामा समेत आइसकेकाले अतिक्रमित जग्गा फुकुवा गराउन सरकारले तत्काल एउटा कार्यदल बनाउन प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताइन् । ‘प्रधानमन्त्री ज्यु, जग्गादाता विश्वविद्यालयको अवस्था देखेर रोएका छन्, सुकुम्वासीका नाममा हुकुमवासीलाई बाँड्न दाताहरुले जग्गा दिएको होइनन्, दाताले दिएको जग्गा फुकुवामा तपाईको विशेष पहलको आवश्यकता छ’, अनिताले सभामा भनिन् । २६ जना सिनेट सदस्य रहने सभामा २४ जना सदस्यको उपस्थिति रहेको थियो ।
सिनेटसभामा सञ्चारमन्त्री रेखा शर्माले विश्वविद्यालय विद्यार्थीविहीन भएकोमा चिन्ता व्यक्त गर्दै यसलाई विद्यार्थीहरु प्रवेश गराएर अध्ययन तथा संस्कृतको अनुसन्धानको थलो बनाउन आग्रह गरिन् । विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय प्रशासनले मात्रै विश्वविद्यालयलाई अघि बढाउन नसकेको अवस्था औल्याउँदै यसलाई खास विश्वविद्यालय बनाउन सरकारले कार्यदल बनाउन प्रधानमन्त्रीलाई आग्रह गरिन् । द्वन्द्वकालमा देउखुरी क्षेत्रमा कव्जा भएको जग्गाको एक दाना पनि विश्व विद्यालयले आयस्ता पाउन सकेको छैन । देउखुरी क्षेत्रमा कव्जा भएको जग्गामा जग्गा कब्जा गर्नेहरुले पक्की तीन तले घरसम्म निर्माण गरेका छन् । त्यसैगरी त्यहाँ कव्जा भएको जग्गा भुमाफियाहरुले अनाधिकृत रुपमा वेचविखन समेत गर्दै आएका छन् । तर मालपोत राजश्व भने विश्वविद्यालयले तिर्दै आएको छ । देउखुरीमा मात्र नभएर पछिल्लो समयमा बेलझुण्डी क्षेत्रमा पनि राजनीतिक दलका नेताको आडमा जग्गा अतिक्रमण भैरहेको बताइएको छ ।
सिनेटसभामा विश्वविद्यालयका कुल सचिव माधव अधिकारीले करीव एक अर्ब ३३ करोड रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेका थिए । त्यसैगरी सिनेटसभामा नेपाल संस्कृत विश्वविद्यालय माताहतको संस्कृत अध्ययन संस्थानलाई स्वास्थ्य विद्या अध्ययन संस्थानका रुपमा विकास गर्ने पनि प्रस्ताव गरिएको छ । विश्वविद्यालयले प्रस्तुत गरेको प्रस्तावमा भने अतिक्रमित जग्गाका विषयमा कुनै कुरा उठाइएको छैन । त्यस्तै सिनेटसभामा नियमित पाठ्यक्रम निर्माण गर्ने, संस्कृत अनुसन्धानलाई प्रार्थिमिकतामा राख्दै यहाँ अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि अनुसन्धानमा सहभागिताका लागि प्रेरित गर्ने पनि प्रस्ताव गरिएको छ ।
केन्द्रीय आयुर्वेद विद्यापीठमा इ–लाइव्रेरी निर्माण गर्दै यसलाई जनता विद्यापीठसम्म पनि विकास गर्दै लैजाने प्रस्ताव पनि सिनेटसभामा गरिएको बताइएको छ । विश्वविद्यालयमा रहेका श्रेणीविहीन कर्मचारीको वृद्धि विकासका लागि योग्यता पुगेका कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धा गराएर माथिल्लो तहमा लैजान पनि सभामा प्रस्ताव गरिएको कुल सचिव अधिकारीले बताएका छन् । जग्गा अतिक्रमण हटाउने सन्दर्भमा विश्व विद्यालय व्यवस्थापन मात्रैले सम्भव नहुने भन्दै यसमा सरकारी तहबाटै पहल हुनुपर्ने पनि प्रस्तावमा उल्लेख भएको बताइएको छ ।
त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयमा विगत दशकदेखि दिक्षान्त समारोह हुन सकेको छैन । विद्यार्थीका प्रमाणपत्र लगायतका फाइलहरुमा धमिरो लागिसकेका छन् । सिनेटसभामा विश्वविद्यालयको दिक्षान्त समारोह भने आउँदो बैशाखमै सम्पन्न गर्न निर्णयार्थ प्रस्ताव गरिएको छ । सभामा प्रस्ताव गरिएका विषयवस्तुको अध्ययन गरी कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै निर्णय प्रमाणित गर्ने छन् ।
सिनेटसभालाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले आफु स्वयम् पनि यस विश्वविद्यालयको संरक्षक तथा अभिभावक भएको नाताले अतिक्रमित जग्गामा बसोबासीहरुलाई अन्यत्र व्यवस्थापन गरी जग्गा विश्वविद्यालयलाई दिलाउनेतर्फ अर्थपूर्ण भूमिकामा लाग्ने आश्वासन दिएका छन् । साथै उनले संस्कृत शिक्षाको महत्व अहिले विश्वका विकसित मुलुकहरुमा पनि बढिरहेको सन्दर्भमा यहाँको विश्वविद्यालयलाई पनि अन्तर्राष्ट्रिय अनुसन्धानको थलोका रुपमा विकास गर्न प्रतिवद्ध रहेको बताएका थिए ।
महान उद्देश्य लिएर योगी नरहरी नाथको विशेष पहलमा सयौं जग्गादाताको सहयोगमा स्थापना भएको यो विश्वविद्यालय अहिले डाइनोसर लोप भएजस्तै तंगभंग भएकोमा जग्गादाता निरास छन् । विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान माताहतको केन्द्रीय आयुर्वेद विद्यापीठ वाहेक केन्द्रीय क्याम्पस र अन्य आंगिक क्याम्पसहरु विद्यार्थीविहीन बन्दै गएकोमा संस्कृत शिक्षामा चासो लिनेहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । –साक्षी खबरबाट