फागुन २१ मा सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले शुक्रबार प्रदेशसभा सचिवालयलाई आइतबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै पत्र पठाएका छन् ।

सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिनेगरी व्यवस्थापन भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि २६ माघमा एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि संविधानको धारा १६८ को उपधारा(३) बमोजिम ठूलो दलको संसदीय दलको नेताको हैसियतमा सोही दिन शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

शाहलाई स्वतन्त्र प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशीसहित नेकपा माओवादी केन्द्रका सभामुख बाहेकका १०, नागरिक उन्मुक्ति पार्टीका ७ जनाले समेत विश्वासको मत दिने दाबी गरिएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा २७ जनाको समर्थन भए सरकार जोगिन्छ ।

फेरिएको समीकरणअनुसार मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसका १९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र समेत गरेर ४१ जना देखिएका छन् । सबै मत प्राप्त गरेमा शाहले दुई तिहाइ भन्दा बढि मत पाउनेछन् । नेकपा एमालेका १० र राप्रपाका १ जना सांसदको भने मत पाउने छैनन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस