काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि निर्वाचन अधिकृत र मतदान स्थल तय गरेको छ । आयोगले भोलिदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
राष्ट्रपतिको चुनावका लागि महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए । निर्वाचन अधिकृत पौडेल पाटन उच्च अदालतका न्यायाधीश हुन् ।
राष्ट्रपतिको निर्वाचन तालिका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि आउँदो बुधवार १० गते मतदाता नामावली प्रकाशन हुनेछ। आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुनेछ ।
मतदानका लागि आउँदे १३ गते मनोनयन दर्ता हुनेछ । राष्ट्रपतिको चुनावमा सङ्घीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सात वटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ। सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ हुनेछ ।


