
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिँदै छन् ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार गएको पुष २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन लागेका हुन् ।
संवैधानिक व्यवस्था अनुसार उनले नियुक्त भएको ३० दिन अर्थात् भोलिसम्ममा विश्वासको मत लिइसक्नुपर्छ ।
आज मुख्यमन्त्रीले विश्वासको मत लिन बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायमै राखेका कारण मुख्यमन्त्री रावललाई समस्या रहेको छ ।
५३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा मुख्यमन्त्री रावल अल्पमतमा पर्ने निश्चित छ ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।