त्रिफला चूर्णले पाचन समस्या र कब्जियत नियन्त्रण

आयुर्वेदमा सबैभन्दा बढी प्रयोग हुने जडिबुटी त्रिफला चूर्ण हो । विभिन्न प्रकारका जडिबुटी मिसाएर तयार गरिने त्रिफला चूर्णले धेरै प्रकारका रोग निको पार्छ ।

त्रिफला चूर्ण औषधीय गुण भएका तीन फलहरू हर्रो, बर्रो र अमलाको संयोजनबाट बनाइएको यौगिक सूत्र हो । बजारमा त्रिफला चूर्ण, त्रिफला ट्याब्लेट, त्रिफला सिरपका ढाँचामा यो उपलब्ध हुन्छ ।

मानव शरीरमा हुने कुनै पनि प्रकारका रोगहरू त्रिदोष अर्थात् वात, पित्त र कफको विकृतिका कारण हुने गर्छ । वात, पित्त र कफलाई एकैसाथ सन्तुलनमा राख्न त्रिफला चूर्णको प्रयोग प्रभावकारी मानिन्छ ।

त्रिफलाको फाइदा

त्रिफलाले पाचन प्रणालीमा राम्रो ब्याक्टेरियाको वृद्धिलाई बढाएर पाचनशक्तिलाई बलियो बनाउँछ । त्रिफला पाउडर मुख्यतया शरीरलाई स्वस्थ राख्न प्रयोग गरिन्छ । यसको प्रयोग कब्जियतको समस्याबाट छुटकारा पाउन, तौल घटाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन, आँखा र छाला स्वस्थ राख्न प्रयोग गरिन्छ । धेरैले यो धूलो पानीमा मिसाएर यसको सेवन पनि गर्छन् ।

कसरी गर्ने प्रयोग ?

राम्रो पाचनका लागि र कब्जियतजस्ता जटिलताबाट बच्न राति सुत्नुअघि यसको प्रयोग गर्न सकिन्छ । लामो समयदेखि कब्जियतको समस्या भएका व्यक्तिले राति सुत्नुअघि दुई टेबल चम्चा त्रिफला चूर्णलाई मनतातो पानीसँग खान सकिन्छ ।

केही समयदेखि मात्र कब्जियतको समस्या भएका व्यक्तिले एक टेबल चम्चा त्रिफला चूर्ण मनतातो पानीसँग सेवन गर्न सक्छन् । त्यस्तै सामान्य व्यक्तिले आफ्नो पाचनतन्त्रलाई बलियो बनाउन पनि यसको प्रयोग गर्न सक्छन् । दैनिक एक चिया चम्चा त्रिफला चूर्णलाई मनतातो पानीसँग सेवन गर्न सकिन्छ ।

यदि त्रिफलाको सेवन गर्दा दिसा पातलो हुने अवस्था देखापर्‍यो भने डोज अलिकति घटाउन पनि सकिन्छ ।

त्रिफला चूर्ण घरमै बनाउने विधि

त्रिफला चूर्ण घरमा बनाउन सकिन्छ । यसका लागि हर्रो, बर्रो र अमलालाई राम्ररी सफा गरेर बीउ निकाल्नुपर्छ । फलबाट बीउ हटाइसकेपछि यसलाई मसिनो गरी काट्ने र २–३ दिनको लागि घाममा सुकाउनुपर्छ । त्यसपछि तीनवटै फललाई एक(एक गरी मिक्सरमा हालेर राम्ररी पिस्नुपर्छ ।

अब यी तीनवटा पाउडरको १००-१०० ग्राम राख्ने र एउटा भाँडोमा राखेर राम्ररी मिलाउनुपर्छ ।

प्रकाशित मिति : २०७९ माघ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस