सांसद अरुणकुमार चौधरी कारागार चलान

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरी आज शुक्रवार जेल चलान भएका छन् ।

१३ वर्ष पुरानो आगजनीको घटनामा छ महिना कैद सजाय सुनाइएका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराइ कैद पुर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो ।

फरार सूचीमा रहेका चौधरीलाई हिजो बिहीवार बाँकेबाट पक्राउ गरिएको थियो । चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्जबाट जहाजमा काठमाडौं लगेको थियो । काठमाडौंबाट उनलाई बिहीवार नै जहाजमा धनगढी ल्याएको थियो । सांसद चौधरी नौ वर्षदेखि फरार थिए ।

कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस