
काठमाडौं । सेयर बजार परिसूचक नेप्से ०.९६ प्रतिशतले गिरावट भएर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ९९.४२ अंकको उतारचढाव हुँदा कारोबार रकम पनि बढेर साढे ७ अर्ब नाघेको छ ।
मंगलबार बजार परिसूचक नेप्से २१.३४ अंकले घटेर २१९०.४२ अंकमा बन्द हुँदा ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से २२७७.६१ को उच्च बिन्दु २१७८.१९ अंकसम्म झरेको थियो । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा वृद्धिका बाबजुत अधिकाम्स उपसूचकमा गिरावट हुँदा नेप्सेमा पनि गिरावट भएको छ ।
संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेयर बजारमा आएको सकारात्मक परिवर्तनलाई नयाँ सरकारप्रति जनताको भरोसाको संकेतका रूपमा लिएको बताइरहँदा सेयर बजारमा भने एकैदिन ९९.४२ अंकको उताचढाव देखिएको छ । बजारमा तीव्र उतारचढाव हुँदा सानो कित्तामा धेरै संख्यामा सेयर कारोबार भएको छ ।
बैंकिङ उपसूचक ०.६० प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक ४.३१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.४१ प्रतिशतले गिरावट भएको छ । मंगलबार नेप्सेमा कुल २०९ कम्पनीको सेयर कारोबार भएकोमा १५१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ५३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।
मंगलबार बाराही हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा सिंगटी हाइड्रोपावरको सेयरमूल्य ८.४५ प्रतिशत र वीन नेपाल लघुवित्तको सेयरमूल्य ८.३० प्रतिशतले वृद्धि भएको छ ।
यता तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य ८.७४ प्रतिशतले गिरावट हुँदा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य ७.४७ प्रतिशत र रिभर्स फल्स हाइड्रोपावर कम्पनीको सेयरमूल्य ६.८३ प्रतिशतले गिरावट भएको छ ।