बिजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित गन्यारी कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष माधव ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष ओलीले पशु र कृषिलाई मात्रै ध्यान दिन सकियो भने हामी स्वायम समृद्धि बन्न सक्ने बताए । उनले हामी आफैं कमजोर हुनुको कारण पैसा नभएर हो, अब पैसा कमाउने भनेको यहि समूहगत तरिकाले काम गर्न सकियो भने आत्मनिर्भर हुन सक्ने बताउँदै उत्पादनमा जोड गरेपछि हामी सरकारमा बसेकाले बजारीकरण गरिदिन्छौ । यो सरकारको दायित्व रहेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले मुक्त कम्लहरीहरु यसरी सहकारीमा संगठित भई जोसजाँगरका साथ अर्गानिक तरकारी खेतीमा जोड दिनुपर्ने बताए । त्यस्तै उनले सहकारीका सदस्यहरुको जीवन स्तर माथि उठाउनको लागि आफु सक्रिय भएर लाग्नुका साथै स्थानीय सरकारलगायत सबैले सहयोग गर्नुपर्ने बताए साथै यसका लागि आफु र आफ्नो संस्थाले आवश्यक सहयोग गर्न तयार रहेको रावतले बताए ।
कार्यक्रममा साक्षी खबर पत्रिकाका सम्पादक राकेश बस्नेत, डगर कृषि सहकारीकी अध्यक्ष अङ्गिता चौधरी, ओजरार कृषि सहकारीकी सचिव सुस्मिता चौधरीले बोलेका थिए ।
संस्थाकी कोषाध्यक्ष गिता चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने संस्थाकी सचिव सम्झना चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
संस्थाकी सदस्य मिना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाकी व्यवस्थापक शुसिला चौधरीले गरेकी थिइन् ।


