तुलसीपुरमा जिल्ला स्तरीय खुला कराते प्रतियोगिता सुरु

तुलसीपुर । दाङ जिल्ला स्तरीय खुला कराते प्रतियोगिता २०७९ आजदेखि तुलसीपुरमा सुरु भएको छ ।

नेपाल सितोरियो कराते संघ दाङको आयोजनामा संचालित प्रतियोगिताको प्रमुख अतिथि तथा कराते महासंघका केन्द्रीय उपाध्यक्ष बद्री नाथ श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले राजनीति प्रवेशसँगै नेपालको सिङ्गो खेलकुद क्षेत्र धरापमा परेको बताएका हुन् ।

राष्ट्रको सान र गौरव बोकेको स्वच्छ खेलकुदमा राजनीति प्रवेश हुनु खेलप्रेमी खेलाडिका लागि दुर्भाग्यपूर्ण हो, यसले नेपालको खेलकुद तीन दशक पछाडि धकेलिएको छ उनले भने । अब खेलकुदको बिकास गर्नेनै हो भने दरिलो आट र ईच्छा शक्ति भएका खेलप्रेमी जुट्नु पर्नेबेला आईसकेको उनले बताए ।

त्यस्तै विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष घनश्याम ढकालले एकीकृत गुरु योजनाका साथ वडाको खेल बिकासमा आफू लागि परेको बताए । यो मेरो दोस्रो कार्यकाल हो वडा भित्र रहेको एक मात्र गैरिचौर खेलमैदान लाई मिनि स्टेडियमको रुपमा बिकास गर्ने योजनाका साथ अगाडि बढेको बताए । साथै उनले बेलुवामा रहेको कराते कवर्डहलको पुर्वाधार बिकासमा वडाका तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

संघका अध्यक्ष पदम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सितोरियो कराते पुर्व खेलाडी चन्द्रागिरी नगरपालिका कराते संयोजक राजेन्द्र महर्जन, कराते पुर्व राष्ट्रिय खेलाडी नरेश शाह, खेलकुद पत्रकार लक्ष्मण बस्नेत लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

संघका कोषाध्यक्ष मधुसुदन घर्तीको स्वागत रहेको कार्यक्रमको संचालन संघका सचिब मोहलाल थापाले गरेका थिए ।

दुई दिनसम्म संचालन हुने प्रतियोगितामा कुमुते महिलातर्फ २०, २५, ३०, ४०, ४५ केजि तौल समूह र पुरुषतर्फ २५, ३०, ४०, ४५ र ५० केजि तौल समूह त्यस्तै महिला पुरुष एकल कातामा कडा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा जिल्लामा छरिएर रहेका डोजोका महिला पुरुष गरि झण्डै दुई सय पचास खेलाडिको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस