काठमाडौं । आगामी अर्थात नोभेम्बर २० देखि कतारमा सुरू हुने फिफा विश्वकप फुटबलका लागि कूल ८३१ खेलाडी दर्ता भएका छन् । कतार विश्वकप खेल्नका लागि ३२ राष्ट्रबाट कूल ८३१ खेलाडी छनोट भएका हुन् ।
विश्वकपका लागि मंगलबारसम्म टिम लिस्ट दर्ता गर्नुपर्ने समय थियो । त्यसै अनुसार सहभागी ३२ वटै राष्ट्रले टिम घोषणा गरिसकेका छन् ।
मंगलबार फिफाले सबै टिमको सूची सार्वजनिक गर्दै कूल ८३१ खेलाडी रहेको जनाएको छ । इरानले २५ सदस्यीय टिम घोषणा गरेको छ भने बाँकी सबैले २६ जनाको टोली घोषणा गरेको छ । विश्वकपमा अन्तिम टोलीमा २६ खेलाडी राख्न पाउने नियम भए पनि इरानले २५ जनाको टोली घोषणा गरेको हो ।
यसअघि २३ जनाको टोली रहँदै आएकोमा यस पटक संख्या बढाइएको हो । कोभिड–१९ पछि अन्तर्राष्ट्रिय फुटबलमा २६ खेलाडी राख्न थालिएको थियो र विश्वकपमा पहिलो पटक हरेक टिममा २६ खेलाडी राखिएको हो ।
विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी लगातार पाँचौ पटक विश्वकप खेल्ने तयारीमा छन् । त्यसमध्ये मेसीले अहिलेसम्म विश्वकपमा १९ खेल खेलेका छन् । यदि उनको टिम अर्जेन्टिना कतार विश्वकपको फाइनल पुगेमा र मेसीले सबै ७ खेल खेलेका उनी सर्वाधिक खेल खेल्ने खेलाडीसमेत हुनेछन् ।
अहिले विश्वकपमा सर्वाधिक २५ खेल खेल्ने कीर्तिमान जर्मनीको लोथर म्याथ्युजको नाममा छ ।


