काठमाडौं । चिया वा कफी सेवन नगर्ने मानिस शायदै भेटिएलान् । कसै–कसैलाई चिसो मौसममा चिया वा कफी नपिइकन जाँगर नै चल्दैन । तर ठिक्क मात्रामा चिया–कफी पिउँदा हुने फाइदा र अत्यधिक सेवन गर्दा हुने बेफाइदाबारे सबैलाई थाहा नहुन सक्छ ।
लामो समयदेखि कफी र चिया सेवनबाट हुने फाइदा र बेफाइदाबारे विभिन्न अध्ययन हुँदै आएका छन् । चीनका अनुसन्धानकर्ताले पनि हालसालै यस्तै खाले एक अनुसन्धान गरेका छन् । चीनको तियानजिन मेडिकल युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको उक्त अध्ययनले कफी र चिया पिउँदा मस्तिष्कघात र डिमेन्सियाको जोखिम कम हुने देखाएको छ ।
दिनमा कम्तिमा २ देखि ३ कप कफी, ३ देखि ५ कप चिया वा चिया र कपी दुवै गरी ४ देखि ६ कप पिउने मानिसमा मस्तिष्कघात र डिमेन्सियाको जोखिम कम हुने अनुसन्धानकर्ताले बताएका छन् ।
‘हाम्रो निष्कर्षले ठिक्क मात्रामा कफी र चिया दुवै वा कुनै एक मात्रै सेवन गर्दा मस्तिष्कघात र डिमेन्सियाको जोखिम घट्ने देखाउँछ,’ अध्ययनमा संलग्न लेखकले बताए ।
चिया वा कफी मात्रै पिउँदा दुवै जोखिम कम हुन्छन् । तर दैनिक २ देखि ३ कप कफी वा चिया सेवन गर्दा सबैभन्दा प्रभावकारी हुने अध्ययनको ठहर छ । अध्ययनअनुसार दैनिक ३ कप कफी वा चिया पिउने मानिसमा डिमेन्सियाको जोखिम नपिउने मानिसमा भन्दा २८ प्रतिशत कम र मस्तिष्कघातको जोखिम ३२ प्रतिशतले कम हुन्छ ।
यसअघि गरिएका अनुसन्धानले समेत मस्तिष्कको स्वास्थ्यका लागि कफी फाइदाजनक हुने देखाउँछ ।
तर अत्यधिक कफी सेवन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । जुनमा न्युट्रिसनल न्युरोसाइन्समा प्रकाशित एक अध्ययनअनुसार दैनिक ६ कपभन्दा बढी कफी पिउने मानिसमा डिमेन्सियाको जोखिम बढ्छ र मस्तिष्कमा पनि हानि पुग्छ ।


