माओवादीले समानुपातिक उम्मेदवारको सूची सामेबार टुङ्ग्याउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सोमबार बिहान पदाधिकारी बैठक बसेर समानुपातिक सूचीलाई अन्तिम रुप दिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान ९ बजे बैठक बसेर समानुपातिक लिष्ट फाइनल गरेर निर्वाचन आयोग बुझाउने भएको हो ।

आइतबार बिहान बसेको पदाधिकारी बैठकले प्रदेशबाट समानुपातिक उम्मेदवार संख्या धेरै आएपछि पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको सचिव गणेश शाहले बताए । प्रदेशबाट तेब्बरको संख्यामा समानुपातिक नाम सिफारिस भएर आएपछि पदाधिकारी बैठकले नाम छनोट गर्न सकस परेको शाहले बताए ।

आज बसेको पदाधिकारी बैठकले अन्तरिम विधायक बाहेक एक पटक समानुपातिक सांसद भइसकेकालाई दोहोर्याउने विषयमा छलफल भएको उपमहासचिव गिरिराजमणि पोखरेलले बताए ।

समानुपातिक लिष्टमा राख्ने व्यक्ति भन्दा मापदण्डमा बढी केन्द्रीत भई छलफल भएको पोखरेलले बताए । सोमबार अन्तिम रुप दिएर निर्वाचन आयोगलाई समानुपातिक लिष्ट माओवादीले बुझाउने भएको छ ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार
प्रतिक्रिया दिनुहोस