
महाभारत पर्वत शृंखलाको १२ सयदेखि २५ सय मिटरसम्मको उचाइका खुला पाखोमा टिम्मुर पाइन्छ । नेपालको पश्चिमी क्षेत्रमा यसको उत्पादन बढी हुन्छ । सुर्खेत, अछाम, सल्यान र जाजरकोटका कृषकले टिम्मुरको खेती बढी गर्ने गर्छन् ।
टिम्मुर एकपटक रोपेपछि यसले धेरै वर्षसम्म फल दिइरहन्छ । मसला र औषधिका रूपमा प्रयोग हुने भएकाले स्थानीय किसान यसप्रति आकर्षित हुन थालेका हुन् । अहिले विश्वबजारमा समेत नेपाली टिम्मुर माग बढ्दै गएको छ ।
विशेषता
– टिम्मुरको बोटमा काँडाबीच पनि फल लागेका हुन्छन् । यसका राता फल हुन्छन् । ती चारदेखि पाँच मिलिमिटर व्यासका स–साना हुन्छन् ।
– टिम्मुरको फलको स्वाद तितो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ ।
– टिम्मुरको बासना मिठो हुन्छ । यसको बिउ गोलो र सानो हुन्छ ।
प्रयोग
– नेपालमा टिम्मुर अचारको रूपमा बढी प्रयोग हुन्छ । यो छोइला र मासुमा पनि हालिन्छ ।
-नेपालमा टिम्मुरलाई विभिन्न औषधिका रूपमा प्रयोग गरिन्छ ।
– हैजा, ज्वरो र पेटको विकार ठीक गर्न टिम्मुर लाभदायी हुन्छ ।
– टिम्मुरको बोक्रा, फल र बिउलाई दन्तमञ्जन, साबुन, अत्तरको रूपमा प्रयोग गरिन्छ ।
– जंगली जुका खसाल्न तथा जैविक विषादी बनाउँदा टिम्मुरको प्रयोग हुँदै आएको छ ।
– गाउँघरतिर टिम्मुरको तेल मर्किएको ठाउँ, टाउको दुख्दा र पिनास हुँदा प्रयोग गर्ने गरिन्छ ।
– युरोपका धेरै देशमा शृंगारका सामग्री र सुगन्धका प्रसाधनमा टिम्मुरको उपयोग गरिन्छ ।
– त्यहाँका कतिपय युरोपेली तथा मध्यएसियाली मुलुकमा औषधिको रूपमा प्रयोग हुन्छ ।
– चीनमा टिम्मुर एक प्रमुख मसलाका रूपमा भएको हुन्छ । टिम्मुरविना चिनियाँ भान्सा अधुरो हुने मास्टर सेफहरूको
भनाइ छ ।
– भारतमा पनि नेपाली टिम्मुरको माग बढ्दो छ ।