सांसद विपिन आचार्यले गरिमा र विद्यार्थी वसन्तको हत्याबारे सरकारको ध्यानाकर्षण गराए

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं सांसद विपिन आचार्यले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरी र शंखमूलस्थित होस्टेलमा मृत भेटिएका वसन्त कालाखेतीको प्रकरणलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले यी दुई घटनासँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। शंखमुलको होस्टलमा २२ वर्षीय बसन्त कालाथोकीको हत्या भएको खबर सुनेर दाङमा उनकी आमाको पनि मृत्यु भएको थियो।

विदेशमा रहेका बसन्तका बुवा आकस्मिक रूपमा घर आउन खोजे पनि आउन नपाइरहेको विषयमा उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘छोरा बितेको, श्रीमती बितेको अवस्थामा घर आउन यति धेरै समय लाग्ने परिस्थिति छ। विदेश जाने रोक्ने स्थिति बनाउन निकै समय लाग्छ। तर विदेश जाँदा घरमा हुने आकस्मिक कुराहरूमा चाहिँ उहाँहरूलाई उच्च प्राथमिकता दिएर देशमा ल्याउन सक्ने मेकानिजम् बनाउनुपर्छ,’ उनले भने।

घटनाले काठमाडौंको होस्टलहरूमा सुरक्षाबारे पनि प्रश्न उठेको उनले बताए। ‘देशभरिबाट सपना बोकेर आउने विद्यार्थीहरूको सुरक्षालाई हामीले कसरी मोनिटरिङ गरिरहेका छौं भन्ने कुरामा काम पनि गर्नुपर्छ,’ उनले भने।

सांसद आचार्यले बलात्कारपछि हत्या गरिएकी बाराकी गरिमा चौधरीको बुवा आमाले मन्त्रालयमा धन्यवाद भनेको भिडिओ सार्वजनिक गरिएको प्रति पनि सरकारको ध्यानाकर्षण गराए। साथै आरोपितको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विषयमा पनि उनले आपत्ति जनाएका छन्।

‘हामीले कस्तो समाज बनाइरहेका छौँ ? जहाँ मृतकका बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ,’ उनले प्रश्न गरे, ‘के एउटा विक्षिप्त परिवारलाई मन्त्रालयमा राखेर भिडियो बनाउनु सरकारको काम हो ? यस्तो कार्य तत्काल बन्द गरिनुपर्छ ।’

प्रकाशित मिति : २०८३ भाद्र ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस