
दाङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि दाङ जिल्ला स्तरीय खेलाडी आज(शुक्रबार) देखि सुरु भएको छ ।
दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना एवं युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको तत्वावधानमा संचालन भएको प्रतियोगिताको उद्घाटन दाङका प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीले गरेका हुन् ।
उद्घाटन समारोलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले राष्ट्रको सान र पहिचानसँग जोडिएको खेलकुद क्षेत्रको बिकास स्थानीय स्तरबाट हुनुपर्ने बताए ।
नवौं राष्ट्रिय खेलकुद खेलाडीको भविष्य कोर्ने एउटा ऎतिहासिक अबसर भएकाले अनुशासनको उच्च आदर्शलाई आत्म साथ गर्दै आफ्नो कला कौशल प्रस्तुत गर्न खेलाडीलाई उनले आग्रह समेत गरे ।
प्रतियोगिताको उद्घाटन समारोह दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षतामा तथा दाङका प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको बिशिस्ट आतिथ्यमा भएको थियो ।
सो अबसरमा जिल्ला प्रहरी प्रमुख वीर बहादुर वली, रनसिंह दल घोरहीका निमित्त गणपति भागिरथ महत, लुम्बिनी प्रदेश खेलक्द परिषदका सदस्य टेक बहादुर बिक, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्प राज मल्ल, खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधि, खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो ।
दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको स्वागत रहेको कार्यक्रममा गोरखा मावि तुलसीपुर, डिभाइन टेम्पल एकाडेमी तुलसीपुरको उपस्थिति रहेको थियो। कार्यक्रममा सर्मिला केसीले नृत्य प्रस्तुत गरेकी थिइन् भने कराते खेलाडीले काता बुन्काई प्रस्तुत गरेका थिए ।
कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।
यसैबिच जिल्ला छ्नोट प्रतियोगिता अन्तरगत आज बेल्झुण्डीमा पुरुष भलिबल, महिला फुटबल छनोट सम्पन्न भएको छ भने अन्य खेलको छनोट भदौ १९ गतेसम्म चल्ने दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख शान्ती सोमैले जानकारी दिइन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ आउँदो असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुँदैछ ।