आज थारू समुदायले अट्वारी पर्व मनाउँदै

दाङ । दाङलगायत पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । सो पर्वलाई उनीहरुले महत्वपूर्ण पर्वको रुपमा मान्दछन्।

शनिबार राति दर खाएर दिनभरि व्रत बस्ने र आइतबार साँझपख रोटी पकाएर दही, केरालगायतका फलफूल देउतालाई चढाइसकेपछि खाने र सोमबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र नुन खाने चलन थारू समुदायमा रहेको छ ।

थारू अगुवाहरूका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि ‘अग्रासन’ (दिदी–बहिनीका लागि छुट्याइने परिकार) छुट्याई बनाइएका परिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ ।

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याई अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । आफ्ना दिदीबहिनीलाई फलफूल र रोटीमात्र खाने र दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरिन्छ।

थारू अगुवाका अनुसार अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ । दाङका थारूराजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ ।

महाभारतका पाँच पाण्डव र दाङका थारूराजा दङ्गीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाँच पाण्डव र द्रोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्ने बेला दाङका थारूराजा दङ्गीशरणको राज्यमा शत्रुहरूलाई आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए ।

भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । थारू समुदायको यो पर्वका अवसरमा आइतबार लुम्बिनी प्रदेशका तीन जिल्ला दाङ, बाँके, बर्दिया र सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस