काठमाडौं। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्याइने भएको छ । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने प्रतियोगिताको ट्रफी सगरमाथाको आधार शिविरमा पुर्याइने नेपाल क्रिकेट संघ(क्यान)का कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।
‘अष्ट्रेलियामा आयोजना हुने विश्वकप ट्रफी यसै महिना नेपाल आइपुग्नेछ । आईसीसीको तालिका अनुसार विश्वकप ट्रफी भदौ १४ मा नेपालमा ल्याइनेछ । त्यो समयमा ट्रफी सगरमाथाको आधार शिविरमा पुर्याइने छ,’ मल्लले भने ।
क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याउन लागिएको हो । यसअघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । ट्रफीलाई भदौ १४ गते नै प्रदर्शनीको लागि सगरमाथाको आधार शिविर पुर्याइने छ ।
मल्लले ट्रफीलाई लुम्बिनी र भक्तपुरको दरबार क्षेत्रमा पनि राखिने बताए । विश्वकपको १०० दिने ट्रफी टुर जारी रहेको छ । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ । विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ ।