आईईएमआईएस अद्यावधिक नगरेका कारण ७३ विद्यालय कालो सूचीमा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले पालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालो सूचीमा राखेको छ ।

एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक नगरेका कारण ती विद्यालयलाई कालो सूचीमा राखिएको महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

आईईएमआईएस मा तथ्यांक प्रविष्टि गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गरेकाले १३ वटा सामुदायिक विद्यालयलाई कालो सूचीमा राख्नु परेको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

उनका अनुसार विद्यालय तहको सूचना तथा तथ्यांकलाई व्यवस्थित गर्न यो प्रणाली लागू गरिएको भएपनि केही विद्यालयले त्यसलाई कार्यान्वयन गर्न आलटाल गरिरहेका छन् ।

आईईएमआईएस मा तथ्यांक प्रविष्टि गर्न सुरुमा विद्यालयहरूलाई जेठ मसान्तसम्म म्याद दिइएको थियो । तर वीरगञ्जका यी विद्यालयलय अटेर गरेर तथ्यांक प्रविष्टि गरेनन् । पछि असार मसान्तसम्म एक महिना म्याद थप भयो । केही विद्यालयले अझै विद्यार्थी भर्ना भइरहेको भनेपछि साउन १५ सम्म म्याद थप गरिएको थियो । त्यसपछि केन्द्रले नै सिस्टम बन्द गरिदिएको छ ।

विद्यालयले अहिले प्राप्त भएको कुनै पनि सुविधा, निकासा तथा अनुदानबाट बञ्चित हुने महानगरले जारी गरेको सूचनामार्फत चेतावनी दिइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा विद्यालय नियमन गर्ने अधिकार स्थानीय सरकारलाई भएकोले ती विद्यालयलाई कारबाही गरेर कालोसूचीमा राखिएको उनले बताए ।

गतवर्ष १०० वटा जति संस्थागत विद्यालयले आईईएमआईएस मा तथ्यांक प्रवृष्टि गरेका थिए । तर, उनीहरू पनि यसवर्ष लापरबाही देखिएका छन् । जम्मा ३९ वटा संस्थागत विद्यालयले मात्रै तथ्यांक प्रवृष्टि गरेको र त्यसमध्ये पनि पाँच वटाले प्रोफाइल नबुझाएको शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले जानकारी दिए ।

३४ वटा बाहेक अन्य सबै संस्थागत विद्यालय पनि कालो सूचीमा परेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस