
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् ।
पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले मंगलबार विहानैदेखि उपसचिव नेपालको निगरानी गरेको थियो । नेपालले नागपोखरीस्थित होटल अरण्यमा घुस लिएको सुनिश्चित भएपछि टोलीले पक्राउ गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाल ६ लाख रुपैंया सहित पक्राउ परे ।
‘प्याराग्लाइडिङको उडान अनुमतिका लागि उहाँले घुस मागेको र त्यो रकम लिएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो,’ अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, ‘नियन्त्रणमा लिएर खानतलासी गर्दा उहाँको साथबाट ६ लाख बरामद भएको हो । अरु साढे १६ लाख रुपैंया गाडीमा भेटियो ।’
पर्यटकीय स्थलमा प्याराग्लाइडिङको अनुमति दिने काम नेपाल नागरिक उड्डयन प्राधिकरणको हो । प्याराग्लाइडिङ सञ्चालन गर्ने व्यवसायीहरुले प्राधिकरणबाटै अनुमति लिनुपर्छ । तर त्यसका लागि मन्त्रालयको सैद्धान्तिक सहमति समेत चाहिन्छ ।
अख्तियारको टोलीले रंगेहात पक्राउ परेका कर्मचारीको साथबाट रकम बरामद भएपछि साथमा रहेका अरु सामानको पनि खानतलासी गर्छ । झोला, कागजपत्र र अरु सामान पनि हेर्छ । अख्तियारको टोलीले उनले साथमा लगेको सरकारी गाडीको पनि खानतलासी लिन थाल्यो, त्यसक्रममा थप साढे १६ लाख रुपैयाँ भेटिएको हो ।
उनको साथबाट साढे २२ लाख रुपैंया बरामद भए पनि ६ लाख रुपैयाँ घुस हो भने बाकी साढे १६ लाख रुपैंया स्रोत नखुलेको रकम हो । अख्तियारले उनलाई बुधबार विशेष अदालतमा पेश गरेर पक्राउको म्याद थप गर्नेछ र अरु थप अनुसन्धान थाल्नेछ ।