आज माओवादीको स्थायी कमिटी बैठक बस्दै, अर्थमन्त्रीबारे छलफल हुने

काठमाडौं । अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आज छलफल हुँदै छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ ।

संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्न सक्ने सम्भावना छ ।

अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा बोलाएर करको दर हेरफेर गराएको आरोप लागेपछि शर्माले गत असार २२ गते सभामुख अग्नि सापकोटाले छानविन विशेष समिति गठन गरेका थिए । सोही दिन अर्थमन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए ।

संसदीय छानविन विशेष समितिले १७ दिन लगाएर तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर प्रकरणमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि नभएको निष्कर्ष छ ।

यसअघि गत असार २२ गते संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले, शर्मा दोषी नदेखिए उनी नै पुनः अर्थमन्त्री बन्ने बताएका थिए । यस सम्बन्धमा आज दिउँसो बोलाइएको माओवादी स्थायी कमिटी बैठकमा छलफल हुने सम्भावना छ ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भने आजको बैठकमा स्थायी कमिटी र पोलिटव्युरो पूर्णता लगायतका विषयमा छलफल हुने बताएका छन् ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस