लुम्बिनी प्रदेश सभाका चार समितिको सभापतिमा एक एक जनाको मात्रै उम्मेदवारी

वुटवल । लुम्बिनी प्रदेश सभाका चारवटा विषयगत समितिका सभापति चयनको प्रक्रिया एक वर्ष पछि अगाडि बढाइएको छ । कुनै कुनै समिति एक वर्ष भन्दा पनि लामो समयसम्म सभापति विहिन रहेको अवस्थामा बुधवार सभापति चयन प्रक्रिया अगाडि बढाइएको हो ।

बुधवार सभापतिका लागि उम्मेदवारी दर्ता गरिएको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार चारवटै समितिको सभापतिमा एक एक जनाको मात्रै उम्मेदवारी परेको छ । यहाँ सार्वजनिक लेखा समितिमा एमालेका विष्णु पन्थीको उम्मेदवारी परेको छ । त्यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा राजमोकी तारा जिसिको उम्मेदवारी परेको छ ।

सामाजिक विकास समितिमा एमालेका बाबुराम गौतम र कृषि वन तथा वातावरण समितिको सभापतिमा एमालेकै जाल्पा भुसालको उम्मेदवारी परेको छ । बुधवार उम्मेदवारी दर्ताको कार्यक्रम सकिएको र बिहीवार समितिका छुट्टा छुट्टै बैठकबाट सभापति चयन भएको घोषणा गरिने छ । सभापतिहरुको सपथ शुक्रवार हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।

लुम्बिनी प्रदेश सभामा ६ वटा विषयगतसमितिमध्ये ४ वटा समिति लामो समयदेखि सभापतिविहिन हुँदा समितिका काम प्रभावित हुँदै आएका थिए । लुम्बिनी प्रदेश सभामा सार्वजनिक लेखा समिति, अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन समिति, कृषि वन तथा वातावरण समिति, भौतिक पूर्वाधार तथा विकास समिति र सामाजिक विकास समिति रहेका छन् ।

लेखा समितिका तत्कालिन सभापति डिल्लि चौधरी नयाँ सरकार गठनसँगै मन्त्री भएपछि सभापति पद खाली छ । त्यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति माओवादी केन्द्रका सांसद दधिराम न्यौपाने थिए जो माओवादी केन्द्र छाडेर एमालेमा आवद्ध भएपछि पार्टीले कारवाही गरेसगै उनको सांसद पद गुमेसगै समिति सभापतिविहिन भयो ।

कृषि वन तथा वातावरण समितिका सभापति विजय वहादुर यादव मन्त्री भएपछि यो समिति पनि सभापतिविहिन भएको थियो । यादव एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएका थिए । पछि उनको दल जसपाले पार्टी निर्णय विपरित सरकारमा सामेल भएको भन्दै कारवाही गरेपछि उनको पनि सांसद पद गुमेको हो । सभापतिविहिन अर्को समिति सामाजिक विकास समितिका सभापति थिए दृगनारायण पाण्डे । पोखरेल नेतृत्वको सरकारलाई अल्पमतमा पार्ने क्रममा उनले सांसद पदबाटै राजीनामा दिएका थिए । उनले राजीनामा दिएसगै सभापति पद खाली भएको थियो ।

नयाँपत्रिका अनलाइनवाट

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस