समानुपातिकमा २० देखि २५ सिट जित्ने माधव नेपालको दावी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाटै २० देखि २५ सिट जित्ने दावी गरेका छन् ।

स्थानीय तह निर्वाचनमा २८ प्रतिशत पालिकामा उम्मेदवारी दिँदा पनि ९ लाख २७ हजार मत आएको भन्दै अध्यक्ष नेपालले देशभर उम्मेदवारी दिए २० देखि २५ लाख मत ल्याउन सकिने बताए ।

पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले भने, ‘हामीले उठाएका उम्मेदवार जम्मा करिव २८ प्रतिशत थिए । सबै ठाउँमा हामीले उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पाउथ्यौं होला । २० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट ।’

नेता नेपालले आगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै गठबन्धनको डम्फूमात्र नबजाउन आग्रह गरे । स्थानीय तह निर्वाचनमा गठबन्धन भएपछि जितिहालिन्छ भनेर मिहिनेत कम गर्दा गठबन्धनबाट पनि धेरै सहयोग नपाएको अध्यक्ष नेपालले बताए ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस