उपसभामुखको उम्मेदवार पुष्पा भुसाललाई बनाउने गठबन्धनको तयारी

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपभासमुखको उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिनिधि सभाको उपसभामुख चयनका लागि पर्सी ३१ गते निर्वाचन हुँदैछ । संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

उम्मेदवार चयन गर्ने विषयमा गठबन्धनका नेताहरुबीच छलफल भएको छ । छलफलका आधारमा भुसाललाई उम्मेदवार बनाउने गरी गृहकार्य अगाडि बढाइएको छ । तर, कांग्रेसमा उपसभामुखका लागि भुसाल बाहेक डिला संग्रौला लगायतले पनि दाबी प्रस्तुत गर्दै आएका छन ।

सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सभामुखमा माओवादी केन्द्रका तर्फबाट सांसद निर्वाचित अग्निप्रसाद सापकोटा छन् । संवैधानिक व्यवस्था अनुसार उपसभामुखमा माओवादी केन्द्रबाट निर्वाचित सांसद दाबेदार हुन पाउँदैनन् । सभामुखमा पुरुष भएकाले उपसभामुखमा महिला मात्रै उम्मेदवार हुन पाउँछन् ।

गठबन्धनमा रहेको जनता समाजवादी पार्टीलाई उपसभामुख दिने विषयमा छलफल भएको छैन । राष्ट्रिय जनमोर्चाले उपसभामुख नबन्ने सार्वजनिक रुपमै बतायो । नेमकिपा र राप्रपामा महिला सांसद नभएकाले ती दलबाट उपसभामुख चुनिन पाउने अवस्था छैन ।

स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धनले जसलाई उम्मेदवार बनाउँछ उही उपसभामुख चुनिनेछन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा अहिले एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस