साउन ४ मा श्वेतगंगा हाइड्रोपावरको आईपीओ खुल्ने

काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रूपैयाँ अंकति मूल्यमा आईपीओ बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले २३ करोड ८९ लाख ५० हजार रूपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ जारी गर्नेछ । जसमध्ये पाँच प्रतिशत अर्थात एक लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी २२ लाख ७० हजार २५ कित्ता आईपीओ सर्वधारणको लागि छुट्याइएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेपश्चात अब सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्ङमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ३७ करोड २० लाख रहेको छ ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस