काठमाडौं । नेपाल आयल निगमको आइतबार साँझको सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर २१, डिजल र मट्टितेलमा २७ रुपैयाँ मूल्यवृद्धि गरेपछि यसको विरोध भइरहेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी अब पेट्रोल एक लिटरको १९९ र डिजल तथा मट्टितेल १९२ रुपैयाँ पुगेको छ ।
इन्धनको मूल्य निर्धारण गर्न निगमको सञ्चालक समिति स्वतन्त्र छ । तर एकै पटक यति धेरै मूल्य बढाउन सञ्चालक समितिका अधिकारीहरु डराइरहेका थिए । तर उनीहरुलाई प्रधानमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले नै ढाडस दिएपछि उच्च मूल्यवृद्धि भएको निगमका अधिकारीहरु नै बताउँछन् ।
सञ्चालक समितिले लगेको प्रस्तावमा प्रधानमन्त्री र मन्त्रीले स्वीकृति दिएपछि समितिमा केही असहमतिका बाबजुद इन्धनमा उच्च मूल्यवृद्धि भएको छ । आइतबार साँझ साढे ५ बजे वाणिज्य मन्त्रालयमा बसेको निगम सञ्चालक समितिको बैठकमा कार्यकारी निर्देशक उमेशकुमार थानीले निगमको वित्तीय अवस्था कमजोर भएकाले मूल्य समायोजन गर्नुपर्ने भन्दै मूल्यवृद्धिको दर प्रस्ताव गरेका थिए । उनले डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्यवृद्धि गर्ने प्रस्ताव गरेका थिए । त्यस्तै हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँ र बाह्यतर्फ १०० अमेरिकी डलर बढाउने उल्लेख थियो ।
केही सदस्यहरुले डिजेल र मट्टितेलको मूल्य नबढाउन आग्रह गरेका थिए । तर, प्रस्तावित मूल्यमा माथि (प्रधानमन्त्री र वाणिज्य मन्त्री) बाट अनुमति भएको जवाफ थानी र पाण्डेयले एक स्वरमा दिएको एक सञ्चालक समितिले बताए ।