दंगीशरण । दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले दंगीशरणका हरेक महिलाहरु उधमशील हुन जरुरी रहेको बताइन् । आर्थिक रुपले जहिले पनि पिछडिएका महिलाहरुका लागि स्थानीय सरकार आएदेखि नै महिला नेतृत्व तथा उधमशिलतासंग जोडिएका कार्यक्रमहरु संचालनमा आइरहेकाले यसलाई कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिइन् ।
दंगीशरण गाउँपालिकाको आयोजनामा विपन्न महिलाहरुका लागि स्थानीय उत्पादन बाट १० दिने अचार बनाउने तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष खड्काले यस्तो बताएकी हुन् । पाचँ वर्षको अवधिमा कैयौँ वडामूखी महिला उधमशील तथा क्षमता विकास कार्यक्रमहरु गरेपनि कुनै पनि वडामा महिलाहरु उधमी तरीकाले ब्यवसायमा लागि नपरेको भन्दै अबको पाँच वर्षमा कार्यक्रम पश्चात अनुगमनका कार्यक्रम अगाडि बढाउने बताइन् ।
घरमै बसीबसी आयआर्जन गर्न सकिने ब्यवसाय पनि नगर्ने, जहिले आर्थिक अवस्था कमजोर छ भन्ने महिला दिदीबहिनीहरु आत्मनिर्भर हुनका लागि घरको काम पश्चात बचेको समयलाई ब्यवसायमा लगानी गर्न उनले आग्रह गरिन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर खड्काले महिलाहरु इच्छा शक्तिलाई बाहिर ल्याइसकेको सिपलाई बाहिर ल्याउँन आग्रह गर्दै गाउँपालिकाले महिलाहरुको माग बमोजिम नै अबका दिनमा कार्यक्रमहरु संचालनमा ल्याउने बताए ।
तालिममा सहभागीहरुले तालिमपछि समुह बनाएर ब्यवसायसँग जोडिने प्रतिवद्धता जनाएका थिए । सो अवसरमा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
२५ जना महिलाहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा शारदा आचार्य र शान्ता पौडेल रहेका थिए । कार्यक्रमको सहजीकरण महिला बालबालिका शाखाकी चन्द्रा वलीले गरेकी थिइन् ।