बिजौरी । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले बिजौरी क्षेत्रको समृद्धिका लागि रोल्पा दहवन—बिजौरी—जलकुण्डी सडकको सुत्रधारनै आफु भएकाले विशेष प्राथमिकतामा राख्ने पनि बताए । आफै राष्ट्रिय योजना आयोगसम्म पुगेर यो सडकलाई तीन जिल्ला जोड्ने रणनीतिक सडकका रुपमा राखेर क्रमांगत योजनामा राख्न सफल भएको समेत उनले बताएका छन् ।
बिजौरी उद्योग वाणिज्य संघको सभाहल सहितको भवन निर्माणमा आफु लगायत यस क्षेत्रका ४ वटै वडा लागि पर्ने भएकाले त्यसमा ढुक्क हुन पनि व्यवसायीहरुलाई आग्रह गरेका थिए ।
बिजौरी उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिका नवनिर्वाचित जनप्रतिनिधि नगर प्रमुख, उपप्रमुख र आफ्नो कार्यक्षेत्रमा रहेका वडाध्यक्षहरुलाई सम्मान एवं बधाई दिएको छ । बधाई एवं सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले यो बर्ष विकाम निर्माणमा खासै तरक्की गर्न नसकिने बताएका छन् ।
‘हामीले यो बर्ष राजश्व करीव ३५ करोड उठाउन सक्ने अनुमान छ, ३० करोड त तिर्नै छ, बाँकी ५ करोडले के गर्न सकिएला’, बधाई तथा सम्मान कार्यक्रममा खड्काले भने, यो आर्थिक बर्ष विकास निर्माणको भन्दा नीति निर्माणको बर्ष हुने छ । चालु आर्थिक बर्षमा बजेट प्रक्षेपण यथार्थ धरातल भन्दा बाहिर गएर गरिएका कारण तुलसीपुर उपमहानगरपालिका दायित्वले चुर्लुम्म डुवेको छ । दुई महिना अघिको तथ्यांकमा उपमहानगरपालिकाले निर्माण व्यवसायी एवं उपभोक्ताहरुलाई काम सम्पन्न गरिसकेको करीव ६० करोड रुपैया जती भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।
कार्यक्रममा मेयर खड्काले व्यवसायीहरुलाई लगाइदै आएको करमा उपमहानगरपालिकाले केही संशोधन सहित पुर्नविचार गर्ने समेत संकेत गरे । ‘हामीले करको दर बढाउने छैनौं, दायरा फराकिलो बनाउन हाम्रो प्राथमिक पहल हुने छ’ मेयर खड्काले भने ।
आफुले आगामि बर्षका लागि बजेट प्रक्षेपण गर्दा राजश्व परामर्श समितिको आधिकारिक तथ्यांकलाई मनन् गर्ने र त्यसमा व्यवसायीहरुलाई पनि आफुले समितिमा आमन्त्रित सदस्यमा राखेको अभिव्यक्ति दिए ।
स्वागत सम्मान तथा बधाई कार्यक्रममा विशिष्ट अतिथि स्यानी चौधरीले आफ्नो प्राथमिकतामा शिक्षा र स्वास्थ्य रहेको भन्दै सामुदायिक विद्यालयहरुमा पर्याप्त भौतिक पुर्वाधार हुँदा पनि शैक्षिक गुणस्तर उस्कन नसकेकाले यसमा शिक्षकहरुले विशेष जागर गर्ने वातावरण बनाउन आफु लागेको बताइन् । त्यसैगरी स्वास्थ्य क्षेत्रलाई पनि आधुनिक एवं स्तरीय बनाउन आफ्नो खास पहल हुने पनि उनको भनाइ थियो ।
‘क्वालिटि, क्वीक, क्लियर एण्ड क्लिन हाम्रो मिशन हो, हामीले पनि गर्न सकेनौं भने तुलसीपुरमा अरु कसैले गर्ने छैन’, उपमेयर चौधरीले भनिन् । उनले आर्थिक असमानताका कारण यहाँ महलमा बस्ने पनि दुखि भएको तथा रोडमा बस्ने पनि दुखि भएको बताइन् । यसलाइ हटाउन असमानताको ग्याप घटाउनुपर्ने उनको आग्रह थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका—१६ का अध्यक्ष शिवानन्द डाँगीले आफु किसानको छोरा भएकाले कृषिको समृद्धिमा विशेष ध्यान दिने बताए । कृषिको मुख्य आधार भनेको सिंचाइ र किसानलाई समयमै रसायनिक मल उपलव्ध गराउनुपर्ने बताउंदै सिचाइको समस्या समाधान गर्न अनियन्त्रित रुपमा नदिजन्य पदार्थको दोहन रोक्न आफुले हरसम्भव प्रयास गर्ने बताए । उनले विजौरी उद्योग वाणिज्य संघका माध्यमबाट मानपुर बजारलाई पनि व्युझाउनुपर्ने उनको सुझाव थियो ।
वडा नं १९ का अध्यक्ष प्रेमनाथ योगीले किसानलाई मल वितरण गर्ने सवालमा उपमहानगरपालिकाले भिन्नै नीति बनाउनुपर्ने बताए । सहकारी दर्ता भएका आधारमा वडालाई मल उपलव्ध गराउने नीतिका कारण आफ्नो वडाले ४० वोरा मात्रै रसायनिक मल पाइरहेको बताए । किनकि सो वडामा एउटा मात्रै सहकारी छ ।
अन्य वडाहरुमा भने कम्तिमा आधा दर्जन सहकारीहरु रहेका छन् । बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका योगीले बिजौरीको व्यवसायिक समृद्धिका लागि दहवन रोल्पालाई वाह्रै महिना बिजौरीसँग यातायातले जोड्ने व्यवस्थापनका लागि व्यवसायीहरु लागिरहेको भन्दै यसमा सहयोग गर्न नगरप्रमुखलाई आग्रह गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै यस क्षेत्रका व्यवसायीहरुले व्यवसायीहरुलाई साइनवोर्ड कर नलगाउन, एकीकृत कर प्रणालीको विकास गर्न, कृषिको समृद्धिका लागि सहज रुपम रसायनिक मल उपलव्ध गराउन, सातामा दुई पटक फोहर उठाउने व्यवस्था मिलाउन तथा व्यवसायिक सुरक्षाको अनुभूत दिलाउन हेमन्तपुरमा रहेको प्रहरी चौकीको स्तरबृद्धि गर्न माग गरेका थिए ।
त्यसैगरी यस क्षेत्रको पर्यटकीय समृद्धिका लागि छिल्लीकोटलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउनका लागि सहज यातायात सेवा, विद्युत सेवा, सहज खानेपानी लगायतका भौतिक पुर्वाधार निर्माणमा पनि उपमहानगरपालिकाको ध्यानाकर्षण व्यवसायीहरुले गराएका थिए । त्यसैगरी नेपालकै गहनाका रुपमा रहेको नेपाल संस्कृत विश्वविद्यालय पटक पटक तालावन्दीकै समस्यामा रहने बताउंदै यसमा पनि ध्यान दिन तथा बिजौरीमा रहेको प्रादेशक आयुर्वेद चिकित्सालयलाई विरामीको गन्तव्यका रुपमा विकास गर्न पनि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको थियो ।
बिजौरी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बिजौरी व्यापार समितिका संस्थापक अध्यक्ष दुर्गा बहादुर केसी, बिजौरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मुक्त वहादुर वली(मुकेश), पुर्व अध्यक्ष कमानसिंह खड्का, व्यवसायी पुष्पा डाँगी, बिजौरी उवासंघका उद्योग उपाध्यक्ष वालकृष्ण रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बिजौरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रेम बहादुर विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव विदुर गौतमले गरेका थिए ।